अर्थ / बाणिज्य

‘चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो’ नोभेम्बर पाँचदेखि हुँदै

यसपटक नेपाल सहभागी नहुने

अजय अलौकिक |
कात्तिक १६, २०७८ मंगलबार २०:५४ बजे

बेइजिङ-  चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर पाँचदेखि आयोजना हुने भएको छ । विश्वमै आर्थिक सहरको परिचय बनाएको साङहाई सहरमा हुन लागेको एक्स्पो यही नोभेम्बर १० तारिखसम्म चल्ने छ । 

आयातलाई केन्द्रमा राखेर आयोजना हुँदै आएको विश्वकै पहिलो आयातसम्बन्धी उक्त एक्स्पोले खुलापनलाई विस्तार गर्नुका साथै चिनियाँ बजारलाई अझ प्रभावकारी रूपमा विश्व बजार, सेयर्ड बजार र सबैको बजार बनाएर अन्तर्राष्ट्रिय जगतमा अझ बढी सकारात्मक शक्ति थप्न जोड दिने आयोजकको विश्वास छ ।


यो एक्स्पोले विकसित देशहरूलाई मात्र नभई विकासशील तथा बेल्ट एण्ड रोडमा आबद्ध साथै अतिकम विकसित देशलाईसमेत मञ्च उपलब्ध गराउँदै आएको छ । यस पटकको एक्स्पोमा १ सय २७ वटा देश र क्षेत्रका गरी झण्डै ३ हजार कम्पनीको सहभागिता रहने बताइएको छ । एक्स्पो ब्यूरोका उप–महानिर्देशक सुन छङहाइले एक्स्पोमा ५८ वटा देश र ३ अन्तर्राष्ट्रिय संस्थाको प्रत्यक्ष उपस्थिति रहने बताए ।

एक्स्पोको चौथो संस्करणमा विश्वका उत्कृष्ट ५ सय कम्पनीमा सूचीबद्ध ८० प्रतिशत कम्पनीको सहभागिता रहने छ । यसपटकको एक्स्पोमा उपस्थिति जनाउने देश र कम्पनीको संख्या गत वर्षभन्दा धेरै रहेको एक्स्पोबारे जानकारी दिन आयोजित प्रेस सम्मेलनमा उनले बताए । कोभिड–१९ महामारीबीच उल्लेखनीय सहभागिताले अघिल्लो रेकर्ड तोड्ने भएको छ । कोभिड–१९ महामारीका कारण सहभागी सबैले कार्यक्रम स्थलमा प्रवेश गर्नुअघि खोप लगाइएको प्रमाण पेश गर्नुपर्ने र न्यूक्लिक एसिड परीक्षण गरिने बताइएको छ । अघिल्ला तीन संस्करणमा नेपालको सहभागिता रहे पनि यसपटकको एक्स्पोमा नेपालको सहभागिता नहुने भएको छ । यस पटक ५८ वटा मुलुकहरू एकस्पोमा सहभागी रहने भएका छन् । 

इन्टरनेशनल ट्रेड एण्ड एक्जिविसन नेपालका प्रबन्ध निर्देशक प्रेम संग्रौलाले यस पटक उपभोक्ता तथा कोसेली क्षेत्र नभएकाले नेपाली व्यापारीलाई आमन्त्रण नगरिएको बताए । उनको संस्थामातहत गत वर्षको एक्पोमा थांका, पस्मिना र धातु मूर्तिका कारोबार गर्ने सात वटा नेपाली कम्पनीहरूको उपस्थिति थियो । 
‘सहभागिताका लागि हामीले आवेदन दिएका थियौं तर यस पटक कन्जुमर तथा गिफ्ट एरिया नराखिएकोले नेपाललाई आमन्त्रण नगरिएको आयोजकले जानकारी दिएको छ,’ संग्रौलाले इकागजसँग भने ।

यसबाहेक अघिल्ला संस्करणहरूमा नेपालको तर्फबाट व्यापार प्रवर्द्धन तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजनमा पर्यटन बोर्ड, लगानी बोर्डका साथै निजी क्षेत्रका उद्यमी व्यवसायीको पनि सहभागिता रहँदै आएको थियो । बेइजिङस्थित नेपाली दूतावासकाअनुसार यस पटकको एक्स्पोमा दूतावासलाई निमन्त्रण गरिएको छैन । गतवर्ष उक्त एक्स्पोमा चीनका लागि तत्कालीन नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँगै इकोनोमिक मिनिस्टरछविन्द्र पराजुली सहभागी थिए ।

‘हाल चीनका धेरै प्रान्तमा कोभिड फैलिएको अवस्था छ । स्वास्थ्य सतर्कतालाई मध्यनजर गरेर पनि पनि निम्तो नदिइएको हुनसक्छ । यद्यपि नेपालको प्रतिनिधित्व गर्दै नेपाली प्रदर्शन कक्ष राख्नेबारे छलफल भइरहेको छ,’ इकोनोमिक मिनिस्टर पराजुलीले इकागजसँग भने । एक्स्पो आयोजना हुन लागेको साङहाई चीनको अन्तर्राष्ट्रिय आर्थिक, वित्तीय तथा प्रमुख व्यापारिक केन्द्रमध्ये एक हो ।


Author

थप समाचार
x