अर्थ / बाणिज्य

भारतीय ऊर्जा बजारमा नेपाललाई प्रवेश, इपानले गर्‍यो स्वागत

इकागज |
कात्तिक १७, २०७८ बुधबार १८:१ बजे

काठमाडौँ-  भारतीय ऊर्जा बजारमा नेपालले पहिलोपटक सहभागिता जनाएकोमा निजी क्षेत्रका जलविद्युत् कम्पनीहरुको प्रतिनिधिमूलक संस्था इपानले स्वागत गरेको छ । इपानले आज बुधबार पत्रकार सम्मेलन गरी भारतीय ऊर्जा बजार ‘इण्डियन इनर्जी एक्सचेञ्ज’ (आईआईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गर्न पहलकदमी गर्ने सरकारी तथा गैरसरकारी क्षेत्रका सकल निकायहरुलाई धन्यवाद ज्ञापन गर्‍यो ।

पत्रकार सम्मेलनमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापारको राजमार्ग प्रसारण लाइनको विकास गर्दै प्रसारण शुल्क (ह्विलिङ चार्ज) तोक्ने र सीमापार विद्युत् व्यापार कार्यविधि बनाउन सरकारका सम्बद्ध निकायलाई आग्रह गरे । ‘नेपालको जलविद्युत् क्षेत्रलाई व्यवस्थित र मर्यादित तरिकाले विकास र विस्तार गरी बढीभन्दा बढी उत्पादन गरेर स्वदेश तथा विदेशमा विभिन्न माध्यमबाट विक्री वितरणनिम्ति आवश्यक कानुन छिटो बनाउन आवश्यक छ,’ आचार्यले भने ।


पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा नेपाल सरकारलको घोषणा गरेको १०वर्षमा १५ हजार मेगावाट क्षमताको जलविद्यत् निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि निजी क्षेत्र उत्साहका साथ निरन्तर लागिरहेको उल्लेख छ । विज्ञप्तिमा इपानले सर्वेक्षण र उत्पादन अनुमति पत्र तथा विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी बाहिरिएका अन्यौलपूर्ण समाचारले जलविद्युत्‌को भविष्यप्रति चिन्ता उत्पन्न भएको जनाएको छ ।

‘इपानले बारम्बार यससँग सम्बन्धित निकाय, मन्त्रालय तथा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । जलविद्युत्मा लगानीमैत्री वातावरण सिर्जना गरी सम्भावना भएसम्मका सबै आयोजनाहरु स्वदेशी तथा विदेशी लगानीमा निर्माण सम्पन्न गरी स्वदेश तथा विदेशमा बिक्री गरेर देशको अर्थतन्त्र बलियो बनाउने र राष्ट्र विकासको आधार रहेको इपानको ठहर छ । 

‘नेपाल सरकार तथा निजी क्षेत्रको अठोट र साहसले देशलाई लोडसेडिङमृक्त गराउँदै ऊर्जाको अन्तर्राष्ट्रिय व्यापारको युगमा प्रवेश गराउन अहोरात्र खटिई योगदान दिने सबै उद्यमीलाई हार्दिक धन्यवाद दिन चाहन्छौं,’ विज्ञप्तिमा छ । भारतले हिजो राति १२ बजेदेखि लागू हुने गरी नेपाल विद्युत् प्राधिकरणलाई ३९ मेगावाट बिजुली उसको आईआईएक्समा निर्यात गर्न अनुमति दिने निर्णय गरेको थियो ।

नेपालले लामो समयदेखि भारतीय ऊर्जा बजारमा नेपालको पनि पहुँच हुनुपर्ने माग गर्दै आएको र एक वर्षअघि यससम्बन्धी औपचारिक प्रस्ताव भारतसमक्ष राखेको थियो । भारतले आयात गर्न अनुमति दिए पनि निर्यात गर्न दिएको थिएन । हिजोको अनुमतिमा उसले उसकै अनुदानमा निर्मित त्रिशुली र देवीघाट जलविद्युत् आयोजनाको नामै उल्लेख गरेर ३९ मेगावाट बिजुलीलाई सहज प्रवेश दिएको हो ।  


Author

थप समाचार
x