अर्थ / बाणिज्य

अन्ततः होङ्शी सिमेन्टले पायो ग्रीडको बिजुली

इकागज |
कात्तिक २८, २०७८ आइतबार १३:११ बजे

तस्वीर साैजन्य : विद्यु‍त प्राधिकरण

सर्दी (नवलपरासी) : नेपाल विद्युत् प्राधिकरणले होङ्सी सिमेन्ट उद्योगलाई वैकल्पिक व्यवस्था गरी शनिबार रातिबाट ग्रीडको बिजुली आपूर्ति गरेको छ । स्थानीय वासिन्दाले निर्माणाधीन प्रसारण लाइन बनाउन अवरोध उत्पन्न गरेपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी ३० मेगावाट बिजुली आपूर्ति गरेको हो ।

चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको उक्त उद्योगलाई राष्ट्रिय प्रसारणको विद्युत पु¥याइएको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत शनिबार राति ९ बजे चार्ज गरी उक्त उद्योगलाई आपूर्ति गरिएको प्राधिकरणको भनाइ छ । 

प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरिएको थियो ।

होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत आवश्यक छ । 

उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको छ । यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ । ११ र ३३ केभी प्रसारण  मेगावाटलाइनबाट विद्युत आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महसुल सस्तो छ । 

विद्युत लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत गर्दै आएको उद्योगले जनाएको छ । 

कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण  प्रसारण लाइनको निर्माण अझै नसकिए तपनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकिएको बताउनुभयो । 

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योग विद्युत आपूर्ति दिइएको छ । 

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो । 
२२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत आपूर्ति दिइएको छ । बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको हो ।


‘मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरुले मागेजति विद्युत दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका कामअभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’, घिसिङले भने, ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं ।’ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु¥याउने  घोषणाअनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण  केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन । नेपाल सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३÷७४मा आयोजनाको सुरु गरिएको थियो । 
 


Author

थप समाचार
x