अर्थ / बाणिज्य

ओली सरकार असुल्थ्यो : पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा २२ रुपैयाँ कर

बूढीगण्डकी जलविद्युत् आयोजनाबाट पनि साढे २२ अर्ब असुल !

विकास थापा |
मंसिर १, २०७८ बुधबार १५:१४ बजे

काठमाडौँ -  पेट्रोलियम पदार्थ अचाक्ली महँगिनुमा अघिल्लो केपी ओली सरकारले थोपरेको कर मुुख्य कारणको रुपमा देखिएको छ ।ओली सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले जनताको ढाड सेकिने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४८ पैसा र डिजेलमा प्रतिलिटर २२ रुपैयाँ ३९ पैसा थप कर लगाएका थिए । खतिवडाले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्कलाई २५ रुपैयाँ २० पैसा लगाएको इकागजलाई प्राप्त निगमको तथ्यांकले देखाएको छ ।

खतिवडाले पेट्रोल मात्र होइन, जनताको भान्सासित जोडिएको डिजेलमा पनि प्रतिलिटर १० रुपैयाँ भन्सार शुल्क थपेर १२ रुपैयाँ पुर्‍याएका थिए । खतिवडाले नै पेट्रोल र डिजेलमा ‘पूर्वाधार कर’ भन्दै प्रतिलिटर १० रुपैयाँ थोपरेका थिए । त्यस्तै प्रदूषण शुल्क पनि प्रतिलिटर पचास पैसा रहेकोमा पेट्रोल र डिजेल दुवैमा एक रुपैयाँ पचास पैसा पुर्‍याए ।


तथ्यांकअनुसार ओली सरकारले कर थोपर्नुअघि राज्यले पेट्रोलमा प्रतिलिटर ३७ रुपैयाँ २५ पैसा असुल्थ्यो । त्यसलाई ओली सरकारले बढाएर प्रतिलिटर ५७ रुपैयाँ ७३ पैसा पुर्‍यायो । त्यसैगरी प्रतिलिटर १८ रुपैयाँ २ पैसा कर असुल्ने गरिएको डिजेलमा ओली सरकारले नै ४० रुपैयाा ४१ पैसा पुर्‍याएको पाइएको छ । यसरी सर्वसाधारणको ढाड सेकिने गरी करको दर थोपर्नुअघि सरकारले पेट्रोलियमबाट कूल २३ अर्ब ५४ करोड रुपैयाँ राजस्व असुल्थ्यो । करको दर र दायर दुबै वृद्धि गरेपछि पेट्रोलियमबाट मात्रै सरकारले ९८ अर्ब ५२ करोड रुपैयाँ असुलेको देखिएको छ । 

सरकारले असुलेको कूल करमध्ये आर्थिक वर्ष २०७७/७८ मा भन्सार शुल्क मात्रै ३७ अर्ब ५५ करोड, सडक मर्मत शुल्क ५ अर्ब ७५ करोड, वातावरण खर्च ३ अर्ब ४३ करोड, मूल्य अभिवृद्धि कर २८ अर्ब चार करोड, पूर्वाधार विकास कर (बूढीगण्डकी) २२ अर्ब ५० करोड, आयकर १ अर्ब २५ करोड रुपैयाँ छन् । ओली सरकारले नै चिनियाँ कम्पनीलाई बेचिएको भनिएको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि गत वर्ष २२ अर्ब ५० करोड रुपैयाँ असुलिएको छ ।

आयोजना निर्माणको नामगोतसमेत कुनै पनि सरकारले लिने गरेका छैनन् । तर यसैका नाममा (हाल पूर्वाधार विकास भनिएको) प्रतिवर्ष साढे २२ अर्ब रुपैयाँ असुल्न भने छाडिएको छैन । ओली सत्तामा आउनुअघि आव २०७२/७३ मा निगमको नाफा १९ अर्ब ३६ करोड रुपैयाँ थियो भने उसले राज्यलाई २३ अर्ब ५४ करोड रुपैयाँ कर बुझाएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमका भाउ प्रतिब्यारेल १०५.५२ अमेरिकी डलर (२०७१/७२ मा) बाट हाल ८६.५० डलर पुग्दा पनि डलरसितको विनिमय दर अकाशिन पुग्दा प्रतिलिटर तेल ५७ रुपैयाँ ९२ पैसाबाट बढेर ६५ रुपैयाँ ३६ पैसा कायम हुन आएको तथ्यांक छ । २०८०/७१ मा एक अमेरिकी डलरको नेपाली मूल्य ९७ रुपैयाँ २८ पैसा थियो । अहिले एक डलर बराबर एक सय २० रुपैयाँ ३३ पैसा छ । 

 

 

 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x