अर्थ / बाणिज्य

इकागज स्कुल–११

करसम्बन्धी ११ प्रश्नोत्तर : शासक-प्रशासकको विलासितामा धेरै कर खर्चिनु करदातामाथि अन्याय

अनिष भट्टराई |
मंसिर १, २०७८ १५:२८ बजे

काठमाडौँ - दसौं राष्ट्रिय कर दिवस बुधबार मनाइँदै छ । नेपालमा हरेक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ । इकागज–स्कुलमा हामीले करबारे जिज्ञासा मेटाउने प्रयास गरेका छौं : 

कर भनेको के हो ?


राज्यको खर्च सञ्चालनका लागि व्यापार, व्यवसाय, आयआर्जन गर्नेहरूबाट लिइने निश्चित शुल्क नै कर हो । कर दण्ड–जरिवाना आदिबाट पनि प्राप्त हुन्छ । करमार्फत सरकारले सार्वजनिक सेवा, प्रशासन सञ्चालन तथा पूर्वाधार विकासका काम गर्छ । हुनेखानेबाट लिएर विपन्न वर्गको समेत लाभका लागि खर्च गरिने हुनाले करलाई आयको पुनर्वितरणका लागि प्रभावकारी माध्यम मानिन्छ । 

कर दिवस कहिलेदेखि किन मनाउन थालियो ?

नेपालमा २०५४ मा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएपछि भ्याट दिवस मनाउने गरिन्थ्यो । पछि यसलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउन थालिएको हो । आज मनाइएको कर दिवस दसौं राष्ट्रिय कर दिवस हो । यो हरेक वर्ष मंसिर १ मा मनाइन्छ । कर दिवस मनाउनुको उद्देश्य करदाताहरूको सम्मान, करसम्बन्धी सचेतनाका लागि हो । 

कर कति किसिमका हुन्छन् ? नेपालीले कस्तो–कस्तो कर तिर्छन् ?

मूलतः कर दुई किसिमको हुन्छ– कर र गैरकर । करलाई आयकर, भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर लगायत विभिन्न शीर्षकमा वर्गीकरण गरिएको हुन्छ । त्यस्तै रोयल्टी, दण्ड जरिवाना लगायतलाई गैरकर भनिन्छ । करमा दर्ता भएका व्यापार–व्यवसाय, उद्यमले प्रत्यक्ष कर तिर्छन् भने करमा दर्ता नभएकाहरूले वस्तु तथा सेवाको उपभोगमा लाग्ने करहरू तिर्ने गर्छन् । यसलाई अप्रत्यक्ष कर भनिन्छ । 

कर किन तिर्ने ? 

राज्य सञ्चालनका लागि आयआर्जन गर्ने हरेक उद्यम, व्यवसाय, व्यक्तिले कर तिर्नुपर्छ । त्यस्तै वस्तु र सेवाको उपभोग गर्ने उपभोक्ताले सो वस्तुको सेवा खरिद गर्दा नै कर तिरेका हुन्छन् । यस्तो अप्रत्यक्ष करको हिस्सा कुल कर संकलनमा उल्लेख्य हुने गरेको छ । 

कर नतिर्नेलाई कस्तो कारबाहीको व्यवस्था छ ?

कर नतिर्ने, कर छली गर्नेलाई विभिन्न कर कानुनअनुसार दण्ड र जरिवानाको व्यवस्था गरिएको छ । 

अरु देशको तुलनामा नेपालको कर प्रणाली महँगो/सस्तो के छ ?

दक्षिण एसियाको अन्य देशका तुलनामा नेपालमा धेरै कर लाग्ने गरेको छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा करको अनुपात २४ प्रतिशत छ । जबकि दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको कुल गार्हस्थ उत्पादनमा करको अनुपात १७ प्रतिशत मात्र छ ।

कर तिरेबापत पाउनुपर्ने सेवा–सुविधा नेपालीले पाएका छन् त ? 

यसबारे धेरै बहस हुने गरेका छन् । सार्वजनिक सेवाको कमजोर गुणस्तर, पूर्वाधारको न्यूनता तथा गुणस्तरहीन पूर्वाधारको अवस्था, बढ्दो चालु (प्रशासनिक) खर्चका कारण सरकारलाई नागरिकले तिरेको कर प्रभावकारी रूपमा खर्च गर्नुपर्ने चुनौती छ । 

अरु देशमा कर तिर्ने मान्छे मालिक अनि कर खाने सेवक हुन्छन् । तर यहाँ त व्यवहारमा ठ्याक्कै उल्टो देखिन्छ नि ?

करदातालाई संसारभर सम्मान गरिन्छ । करदाता सिर्जना गर्नका लागि राज्यले लगानी सहजीकरण तथा व्यावसायिक क्षेत्रको विकासका लागि पर्याप्त काम गर्नुपर्छ । तर नेपालको सन्दर्भमा करदातामैत्री, व्यवसायमैत्री र लगानीमैत्री वातावरणको सर्वथा अभाव छ । अन्य देशमा सयवटा व्यवसाय सिर्जना गरेर एक हजार रुपैयाँ कर उठाइन्छ भने नेपालमा एउटै व्यवसायबाट हजार रुपैयाँ कर उठाउनुपर्छ भन्ने मान्यता छ । यसले गर्दा नेपालमा उद्यम, व्यवसाय क्षेत्र उठ्न सकेको छैन र यहाँ रोजगारी तथा उत्पादन न्यून छ । कर असुलीका लागि सबैभन्दा बढी निर्भरता आयातमाथि छ । 

नेपालमा धनी, ठूला व्यापारीले कर छलेको भन्ने पनि सुनिन्छ । यस्तो किन हुन्छ ?

नेपालमा मात्र नभई संसारभरि नै करछलीका प्रयास हुने गरेका छन् । करछली नियन्त्रणका लागि कर प्रशासनले अनुपालना वृद्धि, करदातामाथि निगरानी र कानुनी तथा प्रक्रियागत छिद्रहरूमार्फत हुन सक्ने कर छलीका सम्बन्धमा चनाखो हुनुपर्छ । साथै कर प्रशासनका अधिकारीहरू मिलेमतोमा हुनसक्ने करछली नियन्त्रणका लागि छड्के जाँच, अघिल्ला वर्षहरूको लेखा परीक्षण गराउन सक्ने व्यवस्था छ । 

नेपालमा धनाढ्यहरूको सूचीमा एकथरीको नाम छ भने कर धेरै तिर्नेको सूचीमा अर्कैको । यसको कारण के होला ? 

जसले बढी आर्जन गर्छ, उसले बढी कर तिर्नुपर्छ । नेपालमा एउटै व्यावसायिक समूहभित्र धेरै कम्पनी हुन्छन् । ती कम्पनीहरूले छुट्टाछुट्टै कर तिर्छन् । तर कुनै व्यावसायिक समूहभित्र ठूलो कारोबार गर्ने कम्पनीको संख्या थोरै छ भने उसले एकमुष्ट कर तिर्दा त्यो आकार ठूलो देखिन्छ । 

नेपालमा करको सदुपयोग भएको छ त ? शासक-प्रशासकको सुविधाका लागि, तिनको विलासितामा धेरै खर्च गरिन्छ, सामाजिक-आर्थिक संरचनाको पिँधमा रहेकालाई फाइदा पुग्नेमा कर खर्च भएको छ त ?

करको उद्देश्य आयको पुनर्वितरण हो । प्रगतिशील कर प्रणालीमा बढी आर्जन गर्नेले बढी कर तिर्छन् । र सरकारले करलाई जवाफदेही, उत्तरदायी ढंगले खर्च गर्नुपर्छ । करदाताका लागि व्यावसायिक सहजीकरण, सार्वजनिक सेवाको गुणस्तर, पूर्वाधार विकासमा किफायती ढंगले स्रोतको उपयोग गरिनुपर्छ । तर हामीकहाँ तीनै तहका सरकारले शासक-प्रशासकको सेवा-सुविधा, उपचार, भरण-पोषणमा खर्च गर्ने गर्छन् भने विकासका लागि छुट्टयाइएको बजेटसमेत गुणस्तरहीन काम गरेर भ्रष्टाचार हुने गरेका घटनाहरू बाक्लै आउने गरेका छन् । वास्तवमा यो करको दुरुपयोग हो । करदातामाथि अन्याय र दोहन हो । यस सम्बन्धमा हरेक नागरिक सचेत भएर सरकारमाथि खबरदारी गर्नुपर्छ । प्रस्तुति : अनिष भट्टराई 

 

र, तपाईं पनि  यी स्कुलमा भर्ना हुनुहाेस् :

इकागज स्कुल १ : यो राजनीति बुझ्नुभएको छैन ? पढ्नुहोस्, १२ प्रश्नोत्तर

इकागज स्कुल २ : अदालती प्रक्रियाबारे अलमल छ ? पठनीय छन् यी सात प्रश्नोत्तर 

इकागज स्कुल ३ : प्रतिनिधि सभा विघटनपछि विधेयक निष्क्रिय भए, अब बस्ने राष्ट्रिय सभा बैठकले के गर्छ ?  

इकागज  स्कुल ४ : ‘दिव्य–उपदेश’ के हो ? पढ्नुहोस् १० उपदेश 

इकागज  स्कुल ५ : यी १२ प्रश्नोत्तर जसले तपाईंलाई कोभिड खोपबारे छर्लंग बनाउनेछ  

इकागज स्कुल ६ : इकागज–स्कुल : बजेटबारे १८ प्रश्न, १८ उत्तर  

इकागज स्कुल ७ : काठमाडौँका लागि मेलम्चीको ३० वर्षे यात्रा, यी १५ प्रश्नोत्तरमा

इकागज स्कुल ८ : 'अक्सिजन कन्सन्ट्रेटर'बारे ६ प्रश्नोत्तर  

इकागज स्कुल ९ : मान्छेबाट प्रकृतिलाई आपत्, त्यसपछि प्राकृतिक विपद् 

इकागज स्कुल १० : मौद्रिक नीतिबारे ७ प्रश्नोत्तर

 

 

 

 


 



Author

अनिष भट्टराई

भट्टराई संवाददाता हुन्


थप समाचार