अर्थ / बाणिज्य

बाढीले अवरुद्ध त्रिवेणी-ताम्ती सडकको ट्र्याक खुल्यो

इकागज |
मंसिर १, २०७८ बुधवार २०:४३ बजे

जुम्ला- बाढीले अवरुद्ध त्रिवेणी–ताम्ती सडक खण्डको ट्र्याक खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४ सय मिटर सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेको हो ।

तिलाका स्थानीय प्रेम बस्नेतले सडक डिभिजन जुम्लाले त्रिवेणी–ताम्ती सडक मर्मतको काम तीव्र गतिमा गरेको बताए । ‘अवरुद्ध सडक खोलेपछि भेरीखोला क्षेत्रका नागरिकलाई केही सहज भएको छ,’ उनले भने । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले अवरुद्ध भएको २० किलोमिटर सडकमध्ये बाढीले ४ सय मिटर सडक पूरै कटान गरेको र मान्छे हिँड्नसमेत बाटो नभएको बताए ।


‘हामीले टोप्लासम्म सडकको साइडबाट ट्र्याक खोल्ने काम सकेका छौं । अब चाँडै ग्याविन पर्खाल निर्माण कार्य अघि बढ्छ,’ उनले भने । त्रिवेणीदेखि ताम्तीसम्मको कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आर्थिक वर्षको दुई करोड रुपैयाँ बचतबाट ठेक्का आह्वान गरिएको छ । 

भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज बनाउन तथा खाद्यान्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुत गतिमा अघि बढाएको इन्जिनियर भण्डारीको भनाइ छ । टोप्लासम्म ट्र्याक खोल्ने काम सकिएको र अब चाँडै ग्याविन पर्खाल निर्माणको कार्य अघि बढाइने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कात्तिक पहिलो साता परेको वर्षासँगै आएको बाढीले सडक कटान गरेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो । बाढीका कारण उक्त सडकक‍ो करिब २० किमि भाग क्षति भएको थियो भने करिब ४ सय मिटर सडक बाढीले कटान गरेको थियो ।
 


Author

थप समाचार
x