अर्थ / बाणिज्य

तल्लो जोगमाई खोलाको व्यापारिक उत्पादन शुरु

इकागज |
मंसिर ३, २०७८ शुक्रबार १७:३६ बजे

आयाेजनाकाे मुहान संरचना क्षेत्र । तस्वीर: साैजन्य ऊर्जा डेभलपर्स

काठमाडौं : ऊर्जा डेभलपर्सको सम्बद्ध संस्था एसियन हाइड्रोपावरद्वारा इलाममा निर्माण सम्पन्न तल्लो जोगमाई खोला जलविद्युत आयोजना (६.२ मेगावाट)ले व्यापारिक उत्पादन शुरु गरेको छ ।

विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम विद्युत प्राधिकरणको प्रतिनिधिका रोहवरमा विभिन्न चरणका परीक्षणहरु सम्पन्न भएका थिए । १५ दिनको परीक्षण उत्पादनसमेत सफलतापूर्वक सम्पन्न गरेपछि आयोजनाले प्राधिकरणबाट स्वीकृति प्राप्त गरी व्यापारिक उत्पादन आरम्भ गरेको हो । 


व्यापारिक उत्पादन शुरु भएसँगै तल्लो जोगमाईले वार्षिक ३ करोड ५९ लाख २० हजार युनिट बिजुली राष्ट्रिय प्रणालीमा योगदान गर्ने आयोजनाले जनाएको छ ।

यो आयोजनाको प्रवद्र्धक कम्पनी एसियन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने अन्तिम चरणको तयारी समेत गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा छ । 

उर्जा डेभलपर्सकै सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीद्वारा इलाम जिल्लामा निर्माण सम्पन्न ९.५१ मे.वा क्षमताको माइबेनी आयोजनाले यसअघि गत असोज १ देखि व्यापारिक उत्पादन शुरु गर्नुका साथै आइपीओ निष्काशन तथा बाँडफाँटको कार्यसमेत सम्पन्न गरिसकेको छ ।  
 


Author

थप समाचार
x