अर्थ / बाणिज्य

मोटरसाइकल चोरका हजार दाउ, हराएका ४० प्रतिशत मात्र भेटिन्छन्

कमल धिताल |
मंसिर ७, २०७८ मंगलबार ५:५२ बजे

काठमाडौँ- करिव एक वर्ष पहिले देवेन्द्र लुइँटेल खत्रीको बौद्ध घरमा पार्किङ गरि राखेको पल्सर २२० सिसीको मोटरसाइकल हरायो । उनले सो मोटरसाइकल किनेको करिव २ महिनामात्रै भएको थियो । ३ लाख भन्दा बढी रकम हालेर लुइटेलले सो मोटरसाइकल किनेका थिए । लुइटेलले प्रहरीकहाँ गएर उजुरी गरे पनि हालसम्म सो मोटरसाइकल भेटिएको फोन आएको छैन् । इन्सुरेन्स बापतको पैसा भने पाइसकेको लुइँटेल बताउँछन् ।

धादिङमा रमेश रेग्मीको मोटरसाइकल घरबाट हरायो । उनको पनि २२० सिसीको पल्सर मोटरसाइकल घरबाहिर पार्किङ गरि राखेको बेला हराएको बताउँछन् । तर हालसम्म उनले प्रहरीकहाँ उजुरी भने गरेका छैनन् । प्रहरीकहाँ उजुरी गरेपनि भेटिने होइन । उनले मोटरसाइकलको पूर्ण इन्सोरेन्स नगरेको कारण पनि प्रहरीकहाँ उजुरी गर्न नगएको बताउँछन् ।


साथीहरूसँग पोखरा घुम्न गएका अम्बरिस लामिछानेको मोटरसाइकल पोखरा घुमरे फर्किदै गर्दा लेकसाइडबाट हरायो । किनेको एक हप्ता नहुँदै उनको मोटरसाइकल हराएको अम्बरिस बताउँछन् । केही समयअगाडिमात्र उनले साथीसँग किनेको २२० सिसीको मोटरसाइकल समेत हराएको र त्यसपछि नयाँ मोटरसाइकल किनेका थिए तर सो मोटरसाइकल पनि किनेको एक हप्तामै हराउँदा उनी निकै दुःखित बने ।

आर्थिक वर्ष

हराएका उजुरी

भेटिएका

२०७३/०७४

१२१९

३०२

२०७४/०७५

१६७९

४०४

२०७५/०७६

१९६१

४७०

२०७६/०७७

१६८१

४३३

२०७७/०७८

१८७३

५८१

कमै मात्र भेटिन्छन्

पाँच वर्षमा प्रहरीसम्म दर्ता भएका चोरी र भेटिएको तथ्यांक हेर्दा निकै कममात्र भेटिएको देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ देखि ०७७/०७८ सम्म ८ हजार ४ सय १३ मोटरसाइकल चोरीको उजुरी दर्ता हुँदा भेटीका मोटरसाइकलको संख्या भने जम्मा २१ सय ९० मात्रै छ । यो तथ्यांक हेर्दा हराएका मोटरसाइकल मध्ये एक चौथाई मात्रै भेटिने गरेको देखिन्छ । प्रहरी प्रवक्ता कुँवर प्रहरीसँग हराएको र भेटिएको तथ्यांक अपडेटको सफ्टवेयर नहँदा भेटिएका मोटरसाइकल प्रहरी, ट्राफिक कार्यालय अगाडी अलपत्र अवस्थामा भेटिने गरेको बताउँछन् । 'काठमाडौँमा हराएको मोटरसाइकल झापामा भेटिए त्यसको अपडेट गर्ने सिस्टम नहँदा त्यसै अलपत्र हुने गरेको छ यसले हाम्रो कार्यालय अस्तव्यस्त हुने गरेको छ' उनले भने ।

नेपालमा हाल मोटरसाइकल हराएको उजुरी दर्ता भएपनि पर्याप्त समन्वयको आभावहुँदा हराएका मोटरसाइकलसमेत धनीसम्म पुग्न नसकेको प्रहरी प्रवक्ता वसन्त बहादुर कँवर बताउछन् । हाल उपत्यकाबाट चोरी हुने मोटरसाइकल विकट जिल्लामा पुग्ने गरेको खबरसँगै हाल प्रहरीले सर्च अभियान चलाएको कुँवर बताउँछन् । नक्कली लाइसेन्स तथा ब्लुबुक समेत प्रयोग गरेर चलाउने गरेको कतिपयलाई पक्राउ गरेको र सर्च अपरेसन सबै क्षेत्रमा सञ्‍चालन गरेको प्रहरीको भनाई छ । 'कतिपय भेटिएका मोटरसाइकल समेत उजुरी तथा समन्वय नहँदा प्रहरी कार्यालय अगाडी थन्किएको छ यसले गर्दा यता प्रहरीलाई ठाँउको अभाव तथा उता धनीलाई मोटरसाइकल नहुँदा समस्या भएको परेको छ' उनले भने । हराएका मोटरसाइकललाई पार्टपुर्जा खोलेर बेच्ने गरेको समेत पाइएको प्रहरी बताउँछ । हराएका मोटरसाइकलको पार्टपुर्जा खोलेर अन्य मोटरसाइकलमा फिट गर्ने समेत पाइएको प्रवक्ता कुँवर बताउँछन् । 

कसरी हुन्छ चोरी ?

मोटरसाइकल चोरी हुने प्रमुख कारण एकान्त स्थानमा पार्किङ रहेको प्रहरी बताउँछ । कतिपय अवस्थामा भने गिरोहको सक्रियताले भिडभाडबाटै मोटरसाइकल चोरी हुने गरेको छ । भिडभाडमा मोटरसाइकल पार्किङ गरेपछि मोटरसाइकल धनिको क्रियाकलापलाई मध्य नजर गरेरसमेत मोटरसाइकल चोरी गिरोह समेत सक्रिय रहेको प्रहरीको भनाई छ ।

कतिपय अवस्थामा भने मोटरसाइकल किन्नेको माग फछि मात्र चोरी हुने गरेको छ । जब मोटरसाइकलको अर्डर आउँछ त्यसपछि मात्र चोरी हुने गरेको प्रहरी बताउँछ । गत असोजमा प्रहरीले यस्तै एक गिरोह पक्राउपछि यसको खुलासा भएको हो । मोटरसाइकल चोरी गर्नेको गिरोह नै सक्रिय रहेको भन्दै प्रहरीले एउटाले पार्किङबाट नजिकको लोकेशनसम्म पुर्याइदिने र त्यहाँबाट गिरोहले पालैपालो नजिकको अर्को लोकेशनमा पुर्याइदिने हुँदा एउटा मोटरसाइकल चोरीमा धेरै व्यक्ति सहभागी हुने गरेको बताउँछन् । 

मोटरसाइकल चोरी पश्चात त्यसको नक्कली ब्लुबुक तयार पारी चलाउने गरेको समेत पाइएको वरिष्ट प्रहरी उपरिक्षक तथा प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवर बताउँछन् । प्रहरीकहाँ ब्लुबुक तथा लाइसेन्स जाँच गर्ने समन्त्र नहँदा छुट्याउन कठिन परेकाले समेत कतिपय चोरीका मोटरसाइकल निवार्ध गुडिरेको प्रवक्ता कुँवर बताउँछन् । नेपालमा चोरी गरि भारतमा र भारतमा चोरी गरी नेपालमा समेत बिक्री हुने गरेको पाइएको प्रहरी बताउँछ ।

चोरका हजार दाउ

नेपालमा मोटरसाइकल चोरी हुने मुख्य कारण भनेको पार्टपुर्जाको बिक्रीका लागि नै हो । कतिपय वर्कशपले चोरी गरेका मोटरसाइकलको पार्ट पुर्जा किनेर बिक्री गर्ने गरेका छन् । मोटरसाइकल चोरी गरेपछि त्यसको नक्कली कागजात बनाई समेत बिक्री गर्ने गर्छन् । त्यस्तै कतिपय गिरोहले भने अर्डर अनुसार चोरी गरेर बिक्री गर्ने र प्रहरीको जाँच नहुने जिल्लामा प्रयोग हुने गरेको छ ।

उपत्यकाबाट हराएको मोटरसाइकल तराई क्षेत्रमा पानी तान्ने साधनको रुपमा समेत प्रयोग हुने गरेको छ । नेपालमा बजाजको मोटरसाइकल धेरै चोरी हुने गरेको छ । बजाज ब्रान्डको मोटरसाइकलको इन्जिन अन्यको तुलनामा केही शक्तिशाली हुने गरेका कारण तराई क्षेत्रमा मोटरका लागि समेत चोरी हुने गरेको छ । नेपालबाट मोटरसाइकल चोरी गरेर भारततर्फ समेत जानेकव गरेको प्रहरी बताउँछ । खुला सिमाका कारण नेपालबाट सजिलै भारत लान सकिने हुँदा कतिपय चोरी भएका मोटरसाइकल भारतमा पुग्ने गरेका छन् ।

कसरी बचाउँने चोरी हुनबाट

मोटरसाइकल चोरी प्रथमतः मोटरसाइकल धनीले सुरक्षित रूपमा नराख्दा हुने गरेको प्रहरी बताउँछ। सवारी धनीले सुनसान क्षेत्रमा मोटरसाइकल पार्किङ गर्ने र त्यसले चोरी गर्नेलाई सजिलो हुने प्रहरी प्रवक्ता कुँवर बताउँछन् । एकै ठाउँमा लामो समयसम्म पार्किङ गर्न नहुने कुँवरको भनाई छ । मोटरसाइकल चोरी हुनबाट जोगाउन सकेसम्म भिडभाड तथा सिसीटिभी भएका क्षेत्रमा पार्किङ तथा ह्याडल लक सहित अन्य लक समेत प्रयोग गर्दा सुरक्षित हुने प्रहरी प्रवक्ता बताउँछन् । कतिपय अवस्थामा टेस्ट ड्राइभ भनेर समेत मोटरसाइकल चोरी हुने गरेको छ त्यसैले सकेसम्म आफूले चिनाजान नभएको व्यक्तिलाई मोटरसाइकल नदिन प्रहरी प्रवक्ता सुझाव दिन्छन् ।  पार्किङ गरिसकेपछि सवारी साधनमै चाबी छोडेर हिँड्ने बानीले समेत चोरी हुने गरेको छ । आफ्ना घर कम्पाउन्डमा लाइटको व्यवस्था गर्नुका साथै घर कम्पाउन्डको लक दुरुस्त राख्नुपर्छ। यदि एउटै कम्पनीका एउटै रङका सवारीसाधन अरुले पहिले नै पार्किङ गरेको छ भने त्यसको छेउमा सकेसम्म पार्किङ नगर्न प्रहरीले सुझाव दिएको छ। एउटै रंगको मोटसाइकल नजिक हुँदा चोर्ने दाउमा आएकालाई सजिलो हुने प्रहरी बताउँछ ।

 

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x