ओप्पोको नयाँ प्याटेन्ट दर्ता
काठमाडौं - केही समयअगाडि मात्रै स्लाईडिङ डिस्प्लेसहितको एक्स २०२१ मार्फत ओप्पोले सबैलाई चकित तुल्यायो । यस्ता उपकरणपनि निकट भविष्यमा यथार्थ प्रमाणित हुन सक्छ भनी आफैँलाई सम्झाउँदै गर्दा चिनियाँ कम्पनी भने हाम्रो सोच भन्दा पृथक लुक्ससहितको नयाँ उपकरणको योजना बनाइरहेको छ । ओप्पोले डुअल साइड्स र र्यापएराउण्ड डिस्प्ले सहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ ।
वल्ड ईन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ)मा दर्ता गरिएको प्याटेन्टमा ओप्पोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको प्याटेन्ट दर्ता गरेको छ । प्याटेन्ट भित्र यस उपकरणका लागि ओप्पोले बनाएका सोचको रेखा चित्र र योजना सम्मिलित रहेका छन् । यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन । तथापी, अवधारणाका निर्माता र लेट्सगो डिजिटलसँगको सहकार्य मार्फत यस ओप्पो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको छ । यसलाई हेर्दा ओप्पोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको देखिन्छ ।
रेन्डर्सलाई आधार मान्दा ओप्पोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । यसमा कम्पनीले कर्भ डिस्प्लेको प्रयोग गरेको देखिँदैन । तस्विरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्राथिन स्टील प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओप्पोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।
यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्याशका साथमा चार ओटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भाग सम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको र्यापएराउण्ड बायाँपट्टी रहेकाले उपकरणको दायाँ पट्टी भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।
ओप्पोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाईँ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ । हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ । योजनाले वास्तविकताको रूप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइ हालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ । ओप्पोको सोच भने निकै नयाँ र पृथक रहेकोमा दुई मत छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया