अर्थ / बाणिज्य

८० अंकले घट्यो सेयर बजार

इकागज |
मंसिर १२, २०७८ आइतबार १५:१६ बजे

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८०.२९ अंक अर्थात २.९४ प्रतिशतले घटेको छ । गत साता निकै उतारचढाव रहेको सेयर बजारमा साताको पहिलो कारोबारमा उल्लेख्य गिरावट आएको हो । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १४.१९ अंक अर्थात् २.७५ प्रतिशतले घटेको छ । आजको कारोबारमा २ सय ३४ कम्पनीका सेयर ७० हजार ८ सय ४२ पटक कारोबार भएको छ ।

आइतबार कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रूपैयाँ बराबरको कारोबार हँदा १ करोड १९ लाख ३ हजार २ सय २ सेयर कारोबार भएको छ ।


आइतबारको कारोबारमा ६ कम्पनीको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १ सय ८२ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । आइसीएफसी फाइनान्स, सामलिङ पावर कम्पनी निर्धन उत्थान लघुवित्त लगायतको सेयरले आज सर्वाधिक कमाउनेमा परेका छन् भने हिमालयन पावर, मानुषी लघुवित्त, प्राइम लाइफ इन्सुरेन्सका सेयर आज सर्वाधिक गुमाउनेमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिको असर सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजारमा लागेको कर्जा क्यापमा कुनै सुनुवाइ नगरेपछि सेयर बजार झन् ओरालो लागेको हो ।

बजार खुलेको केही समयमा नै सेयर बजारमा गिरावट सुरू भएको थियो जुन बजार बन्द हुँदासम्म निरन्तर रह्यो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर धितो कर्जा सम्बन्धमा पुरानै नीतिलाई निरन्तरता दिएका कारण पनि सेयर बजारमा भारी गिरावट आएको विश्लेषकहरू बताउँछन् । बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पनि लगानीकर्ताहरू सन्तुष्ट हुन सकेका छैनन् ।


Author

थप समाचार
x