हेलीकप्टरबाट उपकरण ढुवानी गरी सेवा दिँदै टेलिकम
काठमाडौँ- नेपाल टेलिकमले हेलीकप्टरबाट उपकरण ढुवानी गरी दुर्गम आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दुमा टेलिकमले सेवा पुर्याएकाे हाे । यस्तै गोरखाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु-प्वाइन्ट हेलीकप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको हो । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।
सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्गलगायत क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का बस्तीहरू र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लोलगायत क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरूमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रूटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रूटलगायतका क्षेत्रहरूमा सेवा उपलब्ध भएको छ । मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिकाअन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया