अर्थ / बाणिज्य

नबिल बैंकद्वारा 'नविल स्कुल अफ सोसल आन्टरप्रेनरसिप' कार्यक्रम सुरु

इकागज |
मंसिर १२, २०७८ आइतबार १७:८ बजे

काठमाडौँ- नबिल बैंकले 'नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप' (नबिल एसएसइ) कार्यक्रम सुरु गरेको छ । बैंकले सामाजिक उद्यमशीलता विकासका लागि उक्त कार्यक्रम सुरु गरेकाे हाे ।

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरेको बैंकले जनाएको छ ।


स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नबिल एसएसइले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल, कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोगसहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष उमेर समूहभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने बैंकले  लक्ष्य राखेकाे छ ।

उक्त कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरूलाई उद्यमशीलताको लागि तालिम दिइने छ । उनीहरूका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।


Author

थप समाचार
x