अर्थ / बाणिज्य

नेपालमा गरिबीको अवस्था मूल्यांकन गर्न आए संयुक्त राष्ट्रसंघीय विशेष दूत

इकागज |
मंसिर १३, २०७८ सोमबार १५:१४ बजे

काठमाडौँ– संयुक्त राष्ट्रसंघले नेपालमा चरम गरिबी र मानव अधिकारको अवस्थाबारे मूल्यांकन गर्न आफ्ना विशेष दूतलाई नेपाल पठाएको छ । 

संयुक्त राष्ट्रसंघका विशेष दूत ओलिभर डी सुटर आज नेपाल आएका हुन् । उनी २३ गतेसम्म नेपालमा रहेर चरम गरिबी र मानव अधिकारको अवस्थाबारे समीक्षा गरी संयुक्त राष्ट्रसंघलाई प्रतिवेदन बुझाउनेछन् । उनलाई संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदले विशेष दूतका रूपमा पठाएको हो । 


‘नेपालले पछिल्ला वर्षहरूमा बहुआयमिक गरिबी निवारणमा महत्वपूर्ण कदम चालेको छ,’ उनले भनेका छन्, ‘नेपालले सन् २०२४ सम्म आफ्नो ६० प्रतिशत जनसंख्यालाई कुनै किसिमको सामाजिक सुरक्षा छातामा समेट्ने भनी गरेको घोषणाको म प्रशंशा गर्छु ।’ विशेष दूतले आफ्नो भ्रमण नेपालका यिनै लक्ष्यहरूमा भइरहेको प्रगतिको मूल्यांकन गर्दै उक्त लक्ष्य प्राप्तिका लागि सरकारले अझै कसरी राम्रो गर्न सक्छ भनेर सुझाव दिनु भएको बताएका छन् ।

नेपाल कोभिड–१९ महामारी साथै बाढी र पहिरोबाट आक्रान्त भएको छ । संविधानको मौलिक हक कार्यान्वयनको अवस्थाका साथै सामाजिक सुरक्षा प्रणालीको पर्याप्तताका सम्बन्धमा विशेष दूतले अनुगमन गर्ने बताइएको छ । नेपालमा ७७ प्रतिशत मानिसहरू अनौपचारिक क्षेत्रमा काम गर्ने भएकाले उनीहरूलाई सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको प्रणालीका बारेमा उनले चासो राखेका छन् । नेपालले कुनै विभेदविना जमिनमाथिको पहुँच स्थापित गरेको छ, यद्यपि जमिनको वितरण असमानुपातिक भएकाले यसले गरिबीलाई राम्रोसँग सम्बोधन गर्न नसकेको उनको बुझाइ छ । 

सुटरले काठमाडौँका साथै कर्णाली, लुम्बिनी र प्रदेश २ मा प्रदेश तथा स्थानीय सरकारका साथै गरिबीबाट प्रभावित समूहलाई व्यक्तिगत रूपमा पनि भेट्ने कार्यक्रम छ । उनले नागरिक समाजसँग पनि अन्तर्क्रिया गर्ने बताइएको छ ।  
 


Author

थप समाचार
x