अर्थ / बाणिज्य

आयल निगमलाई १५ दिनमा २ अर्ब घाटा

विकास थापा |
मंसिर १७, २०७८ शुक्रबार १४:१ बजे

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थमा ढाड सेकिने गरी कर असुल्दा र अमेरिकी डलरको भाउ उकालो लाग्दा नेपाल आयल निगमलाई अबको १५ दिनमा मात्रै झन्डै दुई अर्ब घाटा पर्ने भएको छ ।

गत मंसिर १५ गते (बुधबार) इण्डियन आयल कर्पवरेशनले पठाएको पेट्रोलियम पदार्थको मूल्य सूचीअनुसार निगमलाई पेट्रोल, डिजेल र खाना पकाउने ग्यासबाट १५ दिनको घाटा एक अर्ब ९७ करोड ६७ लाख रुपैयाँ पर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।


उनका अनुसार सबैभन्दा धेरै घाटा खाना पकाउने ग्यासबाट पर्ने भएको छ । १५ दिनको अवधिमा एलपी ग्यासबाट मात्रै एक अर्ब २६ करोड २० लाख घाटा हुँदैछ । त्यस्तै डिजेलबाट ५० करोड ७२ लाख र पेट्रोलबाट ३२ करोड ७२ लाख रुपैयाँ घाटा पर्ने निगमले गरेको प्रक्षेपित अर्धमासिक मूल्य विवरणमा उल्लेख छ ।

सबैभन्दा बढी घाटा खाना पकाउने ग्यासबाट
गत नोभेम्बर १ (कात्तिक १५) मा इण्डियन आयल कर्पोरेशन मूल्य सूचीअनुसार निगमको प्रतिसिलिण्डरको खरिद मूल्य एक हजार ६ सय १४ रुपैयाँ ३१ पैसा थियो । अस्ति डिसेम्बर १ (मंसिर १५) को सूचीअनुसार एक सिलिण्डरको खरिद मूल्य ९५ रुपैयाँ २० पैसा बढेर आयो ।

त्यसमा सरकारको राजस्व, विक्रेताको कमिसन, प्राविधिक नोक्सानीसहित एक सिलिण्डर ग्यासमा निगमको कूल लागत २ हजार ३ सय ३३ रुपैयाँ २५ पैसा पर्न गयो । र, यसबाट निगमलाई प्रतिसिलिण्डर ७ सय ५८ रुपैयाँ २५ पैसा घाटा पर्ने भएको छ । 

निगमका अनुसार १५ दिनमा देशभर १६ लाख ६४ हजार ३ सय ७० वटा सिलिण्डर खपत हुन्छ । ग्यासबाट मात्रै निगमलाई एक अर्ब २६ करोड २० लाख रुपैयाँ नोक्सानी पर्न गएको हो । त्यसमाथि भारतीय बजार (रक्सौल) को तुलनामा नेपालतर्फ (वीरगञ्ज) मा प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा सस्तो भएकाले सीमावर्ती क्षेत्रबाट ग्यासको तस्करी हुने गर्छ । सरकारले एलपी ग्यासमा भन्सार शुल्क, भन्सार सेवा शुल्क, मूल्य स्थिरीकरण कोष, मूल्य अभिवृद्धि कर गरी एक सिलिण्डर ग्यासमा २ सय ७८ रुपैयाँ ८६ पैसा असुल्दै आएको छ । 

१५ दिनमै ५० करोड नोक्सानी डिजेलमा
खाना पकाउने ग्यासपछि सबैभन्दा धेरै घाटा डिजेलमा हुने भएको छ । १५ दिनको अवधिमा डिजेलको लागतमा प्रतिलिटिर ३ रुपैयाँ ६२ पैसा घटेर आयो । गत नोभेम्बर १ (कात्तिक १५) मा प्रतिलिटर डिजेलको मूल्य ८० रुपैयाँ १८ पैसा थियो । मंसिर १५ को मूल्य सूचिअनुसार प्रतिलिटर डिजेलको मूल्य ७६ रुपैयाँ ५५ पैसा परेको छ ।

सरकारको राजस्व, विक्रेताको कमिसन, प्राविधिक नोक्सानीसहित निगमको कूल लागत एक सय २६ रुपैयाँ ४४ पैसा पर्छ । हाल एक लिटर डिजेलको बजार भाउ एक सय १९ रुपैयाँ छ । डिजेलबाट निगमलाई प्रतिलिटर सात रुपैयाँ ४४ पैसा नोक्सानी पर्छ । 

देशभर १५ दिनको अवधिमा ६ करोड ८१ लाख २६ हजार लिटर डिजेल खपत हुन्छ । यसबाट निगमलाई ५० करोड ७२ लाख रुपैयाँ १५ दिनमै टुट्टा पर्ने भएको छ । यता सरकारले भन्सार शुल्क, भन्सार सेवा शुल्क, सडक सम्भार शुल्क, पूर्वाधार विकास कर, मूल्य स्थिरिकरणकोष, वातावरण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) सहित एक लिटर डिजेलमा सरकारले ४० रुपैयाँ ४१ पैसा कर असुल्दै आएको छ । 

भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर ३० रुपैयाँ ५४ पैसा सस्तो छ । नेपालमा सस्तो पाइने भएकाले दैनिक आउने १४ हजार भारतीय ट्रक तथा अन्य सवारी साधनले डिजेल खरिद गर्छन् । त्यसबाहेक सस्तो भएकै कारण सीमावर्ती क्षेत्रमा डिजेलको तस्करी पनि हुँदै आएको छ ।

पेट्रोलमा ३२ करोड ७२ लाख नोक्सानी
पछिल्लो मूल्य विवरण अनुसार १५ दिनमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा मूल्य घटेर आएको निगमले जनाएको छ । गत कात्तिक १५ मा एक लिटर पेट्रोलको खरिद मूल्य ८१ रुपैयाँ ९८ पैसा थियो । १५ मंसिरमा ७६ रुपैयाँ ३३ पैसा कायम भयो ।

एक लिटर पेट्रोलमा सरकारले ५७ रुपैयाँ ७३ पैसा कर असुल्दै आएको छ । सरकारी कर, विक्रेताको कमिसन र प्राविधिक नोक्सानीसहित प्रतिलिटर पेट्रोलको लागत एक सय ४६ रुपैयाँ ३५ पैसा पर्छ । हाल बजार मूल्य एक सय ३६ रुपयाँ छ । यसबाट निगमलाई प्रतिलिटर घाटा १० रुपैयाँ ३५ छ । 

आगामी १५ दिनमा देशभर ३ करोड १६ लाख २५ हजार लिटर पेट्रोल खपत हुने निगमको अनुमान छ । १५ दिनको प्रक्षेपित नोक्सानी ३२ करोड ७२ लाख रुपैयाँ छ । भारतीय बजारमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३७ रुपैयाँ ३२ पैसाले सस्तो छ । 

अरुमा नाफा
खाना पकाउने ग्यास, डिजेल र पेट्रोलमा चरम घाटा बेहोरोको निगमले मटितेल, हवाई इन्धन (आन्तरिक र बाह्य दुवै) मा झिनो नाफा हुने भएको छ । पछिल्लो मूल्य विवरण अनुसार १५ दिनको अवधिमा मटितेलबाट निगमलाई एक करोड ३३ लाख, आन्तरिक हवाई इन्धनबाट दुई करोड १५ लाख र बाह्य हवाई इन्धनबाट ८ करोड ४९ लाख गरी कूल ११ करोड ९७ लाख रुपैयाँ नाफा हुने भएको छ ।


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x