विश्व बैंककाे सहयाेगमा जनकपुर र लुम्बिनीमा अक्सिजन प्लान्ट
काठमाडौँ– नेपालमा कोरोना संक्रमण बढ्न सक्ने सम्भावित अवस्थालाई ध्यानमा राख्दै लुम्बिनी र जनकपुरमा अक्सिजन आपूर्ति बढाउन अक्सिजन जेनेरेशन प्लान्ट सञ्चालनमा ल्याइएको छ । विश्व बैंकको सहयोगमा कोभिड–१९ विरुद्ध लड्न नेपालको क्षमता बढाउने उद्देश्यले यी अक्सिजन प्लान्ट सञ्चालनमार्फत् अक्सिजन उत्पादन बढाइएको हो । गत वैशाख र जेठमा कोभिड–१९ का बिरामीलाई अक्सिजन थेरापीका लागि देशभर अक्सिजन अभाव हुँदा सयौं संक्रमितले अकालमा जीवन गुमाउनुपरेको थियो ।
उर्जा किफायती र हाइड्रोजन तथा अक्सिजन छुट्याउने विधि सहितको यी प्लान्टको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख मदन कुमार उपाध्ययाय र विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । लुम्बिनी र जनकपुरमा जस्तै प्लान्टहरू दमक नगरपालिका अस्पताल, प्रदेश १, बागमती प्रदेशको हेटौँडा अस्पताल, गण्डकी र कर्णाली प्रादेशिक अस्पताल तथा सुदूरपश्चिम प्रदेशको महाकाली प्रादेशिक अस्पतालमा यसअघि नै सञ्चालनमा छन् ।
‘भविष्यमा आउन सक्ने कोभिड–१९ को लहरसँग जुझ्नका लागि हाम्रा अस्पतालहरूलाई आवश्यक अक्सिजन आपूर्ति र औषधीहरूसहित तयारी अवस्थामा राख्नुपर्छ,’ स्वास्थ्य मन्त्री विरोध खतिवडा भन्छन्, ‘कोभिड–१९ महामारीविरुद्ध प्रतिकार्यका लागि विश्व बैंक तथा अन्य विकास साझेदारहरूको सहयोग महत्वपूर्ण छ ।’
कोभिड–१९ महामारीको दोस्रो लहरमा अक्सिजन अभाव भएपछि विश्व बैंकको सहयोगमा सञ्चालित कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाले एक हजार ओटा १० लिटर अक्सिजन कन्सन्ट्रेटर देशभरका उपचार केन्द्रहरूमा वितरण गरेको थियो । यी प्लान्टहरूमा अस्पतालमा अक्सिजनको निर्वाध आपूर्ति हुनेछ । यसका अतिरिक्त ४६.७ लिटर क्षमताका सिलिण्डर अस्पतालमा आपत्कालीन मौज्दात र एम्बुलेन्समा उपयोग गर्न सकिन्छ ।
विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस एच हदाद जर्भोसले अग्रपंक्तिका अस्पतालहरूमा महामारी सिर्जित स्वास्थ्य संकटसँग जुझ्न यस्ता पूर्वाधार तयारी अवस्थामा रहन आवश्यक रहेको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया