अर्थ / बाणिज्य

माथिल्लो तामाकोशीमा रोलवालिङ मिसाउने ठेक्कामा चार कम्पनी छानिए

सुरुङकै ठेक्का पाउने सिनो हाइड्रो छनोटमा

इकागज |
पुस १३, २०७७ सोमबार ७:५३ बजे

काठमाडौं: हिउँदको समयमा पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन रोलवालिङ खोला मिसाउने परियोजना निर्माणको पूर्वयोग्यता निर्धारण (प्रिक्वालिफिकेसन) मा चार कम्पनी छनोटमा परेका छन् । पूर्वयोग्यता निर्धारणपछि कम्पनीले बोलपत्र आह्वान गर्नेछ । 

आयोजनाबाट थप २२ मेगावाट बिजुली उत्पादन गर्न माथिल्लो तामाकोसीले रोलवालिङ डाइभर्सनको काम अघि बढाएको हो । यो परियोजना हिउँदे याममा मात्रै प्रयोगमा आउनेछ । रोलवालिङ हाइड्रोपावरको अतिरिक्त पानीले सुख्खायाममा माथिल्लो तामाकोशीलाई १६९ गिगावाट आवरले बढाउने बताइएको छ ।


पूर्वयोग्यता निर्धारणमा एउटा नेपाली कम्पनी र तीन चिनियाँ कम्पनी छनोटमा परेका छन् । नेपाली कम्पनी एसएससीए–हाइ हिमालय ज्वाइन्ट भेञ्चर छानिएको छ । त्यसबाहेक सिनोहाइड्रो कर्पोरेशन लिमिटेड, चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रीक कर्पोरेशन र सान्जी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड छन् । 

माथिल्लो तामाकोशीमा ६ किलोमिटर सुरुङमार्फत रोल्वालिङको पानी मिसाउने उल्लेख छ । जसले सुख्खायामा १७ करोड ६० लाख युनिट बिजुली थप प्रदान गर्नेछ । रोलवालिङ मिसाएपछि तामाकोशीको वार्षिक उत्पादन बढेर २ अर्ब ४५ करोड युनिट पुग्नेछ ।  

सिनोहाइड्रोले अहिले माथिल्लो तामाकोशी कै निर्माणको ठेक्का चार लटमध्ये सिभिल निर्माणको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ ।  
सिनो हाइड्रोको हाइड्रोमेकानिकल निर्माण कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनियरिङसँगको आपसी द्वन्द्वकै राष्ट्रिय माथिल्लो तामाकोशीको लागत र समय दुबै बढिरहेको छ । आयोजनाको ९४ प्रतिशतभन्दा बढी काम सकिएता पनि सिनो हाइड्रो तथा टेक्सम्याकोबीचमा कामको तालमेल नमिल्दा समग्र आयोजना नैं प्रभावित बनेको छ ।
गत वर्ष मेलम्ची खानेपानी परियोजनाको सुरुङ निर्माणको ठेक्का पनि पाएको थियो ।  मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो । विगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको हो । 

एक प्रतिशतभन्दापनि कम मात्रै काम बाँकी रहेको भनिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम कोरोनाभाइरस महामारीका कारण प्रभावित बनेको थियो । यसअघि विभिन्न कारण पटकपटक आयोजनाको काम रोकिँदा निर्माण अवधि र लागत बढेर झण्डै दोब्बर भएको छ ।
यसअघि विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी अनि लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण आयोजनाको काम पटकपटक प्रभावित हुँदा निर्माण अवधि र लागत बढेको हो । 

३५ अर्ब २९ करोड रुपैयाँ लागतमा निर्माण सक्ने भनिएको ४५६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि हालसम्म करिब ४९ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।


Author

थप समाचार
x