अर्थ / बाणिज्य

सिभिल बैंक लिमिटेडको ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुल्ला

इकागज |
मंसिर २५, २०७८ शनिबार १३:१४ बजे

काठमाडौँ -  'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गते देखि 'सिभिल बैंक डिबेञ्चर २०८८' सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको छ ।

बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिवेन्चर १ हजार अंकित मूल्यका तीस लाख कित्ता डिवेन्चरले हुन आउने ३ अर्ब बराबरको कुल डिवेन्चर मध्ये १२ लाख कित्ता डिवेन्चर अर्थात १ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा १८ लाख कित्ता डिवेन्चरले हुन आउने रु १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।


सर्वसाधारणहरुले कम्तिमा २५ कित्ता देखि अधिकतम १२ लाख कित्ता सम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भई किनबेच समेत गर्न सकिनेछ ।

 सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पौष ९ गते बन्द हुनेछ ।

बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुचीकृत डिवेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको छ ।

 यसका साथै अन्य धेरै डिवेन्चरहरु भन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ ।  सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५५ डिवेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।   


Author

थप समाचार
x