अर्थ / बाणिज्य

लगानीकर्ता हतोत्साही

सेयर बजारबारे दुई नेताको आराेप-प्रत्याराेप, साताभरीमा ७३ अंककाे गिरावट

कारोबारमा पनि कमी

इकागज |
पुस ३, २०७८ शनिबार १५:३० बजे

काठमाडौँ - निरन्तर ओरालो लाग्दै आएको सेयर बजार यो साता पनि त्यसकै निरन्तरता पायो । सेयर बजारमा यो साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्थमन्त्री जनार्दन शर्माकाे बचाउमा दिएकाे अभिव्यक्ति तथा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले सेयर बजार डुबाउन खाेजेकाे भन्ने अभिव्यक्तिले निकै चर्चा पाएको थियो । दाहालले सेयर बजारका लगानीकर्ताको मनोबल खस्कीने गरी दिएको अभिव्यक्तिमै टेकेर ओलीले दाहाललाई काउन्टर दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी शेयरबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रत्यक्ष असर शेयर बजार परेको थियो । दाहालको सो अभिव्यक्तिलाई एमाले अध्यक्ष ओलीले लगानीकर्ताबाट चन्दा नपाएपछि सेयरबजार विरोधि अभिव्यक्ति दिएको भनेर लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए ।


अध्यक्ष दाहालले भने विज्ञप्ति नै निकालेर पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गरेका छन् । सेयर बजारका सन्दर्भमा लाखौं लगानीकर्ताहरूको हितका पक्षमा रहेको भन्दै उनले ओलीको भ्रामक दाबीको विश्वास नगर्न आग्रह गरेका थिए ।

यता दुई दलका शीर्ष नेताहरू आरोप प्रत्यारोपमा उत्रिदै गर्दा सेयर कारोबार मापक नेप्से परिसूचक भने निरन्तर ओरालो लाग्दै गर्दा लगानीकर्ता हतोत्साही भएका छन्। सेयर बजारमा मंगलबारबाहेक अन्य दिन बिक्रीकाे चाप परेकाे छ ।

यस साता सेयर बजारमा पनि ओरालो यात्रा कायम नै रह्‍यो साताको पहिलो कारोबारको दिन आइतबारदेखि बिहीबारसम्मको कारोबारमा नेप्से सूचकमा ७३ अंकको गिरावट आएको थियो । कारोबारको पहिलो दिन आइतबार २४ सय ४९ अंकबाट सुरु भएको नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबारसम्ममा घटेर २३ सय ७६ अंकमा रोकिएको छ। साताभरको कारोबारमा नेप्से परिसूचक ७३ अंकले गिरावट आएको हो ।

सातामा कारोबार भएका पाँच दिनमध्ये चार दिन नेप्से परिसूचक ओरालो लागेको थियो । साताको पहिलो दिन आइतबारको कारोबारमा ८८ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार पनि सोही क्रमलाई निरन्तरता दिदैं ७९ अंकले घट्दा नेप्से परिसूचक २२८२ अंकमा पुगेर कारोबार रोकिएको थियो ।

मंगलबार भने सेयर बजारमा बहार छाएको थियो। मंगलबार एकैदिन नेप्सेमा १३७ अंकको सुधार आएको थियो । १३७ अंकले बजार बढ्दा नेप्से परिसूचक २४१८ अंकमा पुग्दा लगानीकर्ता केही उत्साहित भएका थिए ।

सेयर बजारमा मंगलबार दिउँसो १ बजेर २६ मिनेट जाँदा परिसूचक ६.०१ प्रतिशतले बढेपछि कारोबार बन्द भएको थियो । नेप्सेको सर्किट ब्रेकरको व्यवस्था अनुसार परिसूचक ६ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा सो दिनको लागि कारोबार बन्द हुने व्यवस्था रहेको छ । तर, मंगलबारको जस्तो कारोबारले बुधबार निरन्तरता पाएन । बुधबार नेप्से परिसूचक पुन: ओरालो तर्फ लाग्यो । बुधबारको कारोबारमा परिसूचक ४ अंकले गिरावट आएको थियो । यस्तै साताको अन्तिम कारोबारको दिन बिहिबार पनि बजार ओरालोतर्फ नै केन्द्रित हुन पुग्यो । बिहिबारको कारोबारमा बजार ३७ अंकले घटेर २३७६ अंकमा पुगेको छ ।

साताभर रकम कारोबारमा पनि कमी आएको देखिन्छ। गतसाता सेयर बजारमा करिब १७ अर्ब ९० करोडको कारोबार भएको थियो भने यो साता करिब १६ अर्ब १० करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तो छ साताभरको सेयर बजारको अवस्था

मिति

नेप्से परिसूचक

अंक फरक + वा - मा

कारोबार रकम

मंसिर २६ आइतबार

२३६१

-८८

 ३ अर्व ३८ करोड रुपैयाँ

मंसिर २७ सोमबार

२२८२

-७९

 ३ अर्ब ९९ करोड रुपैयाँ

मंसिर २८ मंगलबार

२४१८

+१३७ 

 १ अर्ब ८४ करोड रुपैयाँ

मंसिर २९ बुधबार

२४१४

-४

 ४ अर्ब ५८ करोड रुपैयाँ

पुष १ बिहिबार

२३७६

-३७

 २ अर्ब ३० करोड रुपैयाँ

 

 

 


Author

थप समाचार
x