अर्थ / बाणिज्य

एमसीसी अनुमोदन नहुँदाका परिणाम

कृष्णप्रसाद भण्डारी |
पुस ८, २०७८ बिहीबार १२:१३ बजे

नेपाल र अमेरिकाको मैत्री सम्बन्ध लगभग सात दशकभन्दा पुरानो ऐतिहासिक रहेको छ । नेपालको पहिलो विदेशी सहायताको सुरुवात अमेरिकाबाटै भएको हो । नेपाललाई सहायता दिने अमेरिकाको समर्थन र प्रतिबद्धता विश्वले नियालिरहेको छ । विश्व अर्थतन्त्रको नेतृत्व र रणनीतिक सहायता र लगानी नेपालका लागि अझै महत्व राख्छ ।

नेपालको गरिवी र पछौटेपनको कारणले गर्दा नै नेपाललाई सहायता समूहभित्र राखेको छ । नेपालको अस्थिर राजनीतिले गर्दा नै नेपालका आर्थिक सूचकहरु ओरालो लागिरहेको कुरा बिर्सन सकिदैन । जहाँसम्म एमसीसीको विवादित सन्दर्भ छ, यो झनै पेचिलो बन्दै गइरहेको छ । एमसीसी सम्झौताका विभिन्न दफा र शर्तहरु जे जस्ता भए पनि यसका शर्तहरुबाट नेपालको लागि असर गर्ने देखिदैन ।


यस्ता द्विपक्षीय सहायताका अनुदानहरुबाट नेपालको विकास चलिरहेको छ । अर्थतन्त्रको संकुचनले गर्दा पूर्वाधारमा खासै उपलब्धी हासिल हुन सकेको छैन । एमसीसीको महत्वपूर्ण पाटो भनेको उच्च भोल्टेजको प्रसारण लाइन र प्रविधियुक्त सडक विस्तार गर्ने महत्वपूर्ण पूर्वाधार हुन् । नेपालको जलविद्युत ऊर्जासम्बन्धी परियोजना खासगरी विदेशी सहायताबाट संचालन भइरहेको छ । यसमा निजी क्षेत्रको योगदानले विद्युत संकट समाधानमा सघाउ पुगेको पनि भुल्न हुँदैन । कथंकदाचित् एमसीसी लागू नभएको खण्डमा नेपालको पूर्वाधार विकास पछि पर्ने निश्चित छ ।

अहिले जलविद्युत तथा ऊर्जामा प्रसारण लाइन र सडक विस्तार हुन नसकेर धेरै आयोजनाहरु अलपत्र पर्ने अवस्थामा छन् । नेपालको आर्थिक सूचकलाई दीगो र भरपर्दो बनाउने माध्यम भनेको नै ऊर्जा भएकोले यसलाई नागरिक अगुवा तथा सर्वसाधारणले बुझ्न जरुरी छ । अहिले एमसीसीलाई राष्ट्रियता र राजनीतिक दाउपेचमा पारिरहुनु हुँदैन भन्ने तमाम नागरिक समाजले बुझ्न जरुरी छ । 

यसै प्रसंगमा नेपाललगायत नेपालसँग सम्बन्ध राख्ने अन्तराष्ट्रिय निकायहरुले ध्यान दिनुपर्ने निम्न ११ वटा बुँदा तल प्रस्त गरिएको छ । 

नेपाल लगायत नेपालसम्बद्ध राष्ट्रहरुले ध्यान दिनुपर्ने आधारभुत प्रश्नहरु
१. नेपालमा धु्रवीय भुमण्डलीकरणको तीव्र रुपमा रणनीतिक चासो बढेको सन्दर्भमा नेपाल कसरी सन्तुलित हुनसक्ने र कस्तो रणनीति अख्तियार गर्ने ?
२.  नेपाल असंलग्न परराष्ट्र नीति र पंचशीलको सिद्धान्तमा चलेको देश भएकोले शक्ति राष्ट्रको गुटसँग लाग्न मिल्ने कि नमिल्ने ? उदार र खुला अर्थनीति अंगालेको नेपालको अर्थतन्त्र बहुपक्षीय, द्विपक्षीय सहायतामा आधारित छ । अन्य देशबाट आउने सहायता र लगानीलाई कसरी विश्वसनीयता बनाउने ?
३. नेपाल अहस्तेक्षपको सिद्धान्तमा अडिग छ । नेपालले सैन्य गुट र निशस्त्रीकरणको संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरेको छ । नेपालको शान्ति खलल नहुन आन्तरिक तथा बाह्य गुटलाई कसरी व्यवस्थापन गर्ने ?
४. एमसीसी, एमसीए, बीआरआईबाट प्राप्त लाभहानी, हुन सक्ने जोखिम र दुरगामी प्रभाव र द्विपक्षीय बहुपक्षीय सहायता जस्तै ः विश्व बैंक, एशियाली बैंक, यूरोपियन बैंक लगायत छिमेकी भारत र चीनसँगको समदुरी सम्बन्धलाई कुटनीतिक तवरबाट कसरी सन्तुलन मिलाउने ? तटस्थ साझेदार राष्ट्रहरु जापान, दक्षिण कोरियासँग घनिभूत सम्बन्ध कसरी विस्तार गर्ने ? 
५. एमसीसी र बीआरई नेपालका लागि दुवै महत्वपूर्ण साझेदार लगानी हुन । नेपालका लागि ठूलो लगानी चाहना हुन सक्छ । अमेरिका र चीनको सम्बन्ध अझ प्रगाढ बन्दै छ । नेपालले त्यो बुझ्न जरुरी छ । एमसीसी सहायता÷लगानीको रकम थोरै भए पनि विश्व अर्थतन्त्रमा अमेरिकी प्रभाव र प्रतिबद्धता नेपालको लागि कति महत्व राख्छ ? 
६.  यदि नेपाल आत्मनिर्भर स्वाधीन राष्ट्र बन्न, कार्यदिशासहितको दीगो आर्थिक नीति के 
हुने ? 
७. नेपाल अझै परनिर्भर रहेको हुँदा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती हुन वास्तविक मापदण्ड के के हुने ? 
८. भारत र चीनको आर्थिक औद्योगिक प्रदूषणले गर्दा नेपालको जैविक विविधता, प्राकृतिक श्रोतको जगेर्ना गर्दै, बहुजातीय एकतामा अखण्ड हुने गरी एकताको सूत्रपात के हुने ? 
९. नेपाल जलवायुको जोखिमबाट कसरी मुक्त रहने ? नेपालको जलवायु जोखिमको जिम्मेवारी र वित्तीय सहयोग कसरी प्राप्त गर्ने ? कार्वन उत्सर्जनमा नेपालको भूमिका के रहने ? 
१०. नेपालको प्राकृतिक साधन जलश्रोतको पर्यावरणीय दीगो विकासलाई ऊर्जा महत्वपूर्ण साधन भएकोले ऊर्जा र पूर्वाधार विकासमा राष्ट्रिय अन्तराष्ट्रिय सहमति कसरी अवलम्बन गर्ने ? 
११.ऊर्जा सुरक्षाको लागि के नेपाल परमाणु ऊर्जामा जान सक्छ ?  


यी माथिका ११ बुँदामा सार्वजनिक सरोकार र नागरिक अगुवासहितको सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय बहसको थालनी गर्न तथा मित्रराष्ट्रसँग आर्थिक, कुटनीतिक कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा बहुविष्यक राष्ट्रिय परिषद समूह (थिंक ट्यांक ग्रूप) गठन गर्न मेरो व्यक्तिगत सुझाव दिने प्रयास गरेको हो । जे बुझ्नुस् । 

भण्डारी, निजी जलविद्युत ऊर्जा प्रर्वद्धक हुन्
 


Author

कृष्णप्रसाद भण्डारी

भण्डारी, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य हुन् ।


थप समाचार
x