घर बनाउँदा कस्तो पाइप राख्ने ?
काठमाडौँ - हरेक मानिसलाई सानै भए पनि आफ्नै घरमा बसौँ भन्ने सोच हुन्छ । तर घर बनाउने प्रकृया दिन प्रतिदिन झन्झटिलो र खर्चिलो हुँदै गइरहेको छ । प्राय मानिसको हकमा घर भनेको जिन्दगीभरीको कमाइ हो । त्यसैले घर बनाउँदा धेरै कुरामा विचार पुर्याउनुपर्छ । त्यस्तै विचार पुर्याउनुपर्ने एउटा विषय सहि पाइपको छनोट पनि हो ।
सही पाइपको छनोट गर्नु एउटा मुख्य चुनौती हो, जसले तपाईंको घरको पिउने, खाना पकाउने र सफाईमा प्रयोग हुने पानीलाई प्रभावित गर्दछ । घर बनाउँदा तपाईंले छनोट गर्नुभएको पाइपले तपाईं र तपाईंकोे परिवारलाई धेरै नै असर पार्न सक्छ । त्यसैले पाइप छनोट गर्नको लागि प्लम्बरमा मात्र भर पर्नु राम्रो होइन ।
राम्रो गुणस्तरको पाइप छनोट नगर्दा समस्याहरु देखा पर्छन् । पाइपको चयन गर्दा चाप र तापक्रमलाई सहन सक्ने क्षमता भएका पाइपको प्रयोग गर्नुपर्छ । कहाँ र कस्तो अवस्थामा कुन पाइपको जडान गर्नुपर्छ भन्ने कुरा घर धनीलाई ज्ञान भएको राम्रो हो । पाइप सम्बन्धि आउने प्लम्बिंगका समस्याहरु दिनहुँ आइपर्दैनन तर पनि बेलैमा हामीले ध्यान पुर्याएनौँ भने यसले निकै ठूलो खर्च निम्त्याउन पनि सक्छ । त्यसैले पाइपको बारेमा जानकारी राख्नु सबैको लागि निकै महत्वपूर्ण हुन्छ ।
हरेक कम्पनीको पाइपहरुमा केहि न केहि समस्या आउनु स्वाभाविक हो तर समयमै ती समस्याहरु निराकरण गरियो भने ती पाइपहरुको पूर्ण उपयोग गर्न सकिन्छ । हेलचक्र्याइँ गरियो भने पछि पाइपिङमा समस्या आउँदा फेरी सबै तोडफोड गरेर मर्मत गर्नुपर्ने हुन्छ । पाइपहरुको विभिन्न प्रकार र तिनीहरुको विशेषता अनुसार पाइपलाई प्रयोग गरियो भने यी समस्याहरु आफैँ निकै कम भएर जान्छन् । उदाहरणको लागि खानेपानी प्रयोजनको लागि किचन र बाथरुममा सिपिभिसी पाइप प्रयोग गर्न उचित हुन्छ । तर सोहि पाइपलाई ढल निकासका लागि प्रयोग गर्यौँ भने त्यसले राम्रो नतिजा दिँदैन र फेरि पाइप परिवर्तन गर्नुपर्ने हुन्छ ।
नेपालमा एउटा राम्रो घर बनाउनको लागि नेपाली बजारमा सजिलै उपलब्ध हुने, चाप धान्न सक्ने, बलियो, टिकाउ पाइपको छनोट गर्नुपर्छ । पाइप के कत्तिको राम्रो छन् भन्ने कुरा पाइपमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादनमा प्रयोग हुने प्रबिधि र आधिकारिक गुणस्तर चिन्ह प्राप्त गरेको छ वा छैन भन्ने कुराबाट थाहा हुन्छ । नेपाली घरहरुमा सबैभन्दा बढी आउने सामान्य समस्या भनेको चुहावट हो, जुन प्लम्बिंगको डिजाइन नमिलेर, फिटिङ्स राम्रोसँग नजोडेर, कम गुणस्तरको पाइप प्रयोग गर्नाले वा पाइपमा काँटी जस्तो धारिलो चिजले हानी पुर्याएमा निम्तिने गर्दछ । चुहावटले घरको आयु घटाउनुको साथै भित्ताबाट पानी चुहिने, भित्ता बिग्रिने, ढल्ने जस्ता समस्या पनि निम्त्याउँछ ।
यस्ता समस्याहरु आउन नदिन घर बनाउनु अगाडि नै सम्भब भएसम्म स्यानिटरी इन्जिनियरलाई अथवा प्लम्बिङ्ग दक्षता हासिल गरेको अनुभवि प्लम्बरलाई बोलाएर प्लम्बिंगको नक्सा कोर्न लगाएर प्लम्बिङ्गको नक्सा तयार गर्न लगाउनुपर्छ । नक्सा तयार भइसकेपछि नक्सा अनुसार नै गुणस्तरीय पाइप छनोट गरेर प्लम्बिङ्ग गर्नुपर्छ र काम नसकिएसम्म काममा खटिएका प्लम्बरहरुकोे काम गर्ने तरिका र सीपको निरीक्षण गर्नुपर्छ । प्लम्बिङ्गकोे काम सकिएपछि अनिवार्य रुपमा प्रेसर टेस्टिङ् गर्नुपर्छ भने जथाभावि रुपमा भित्तामा काँटी ठोक्नुहुँदैन । यदि भित्तामा केहि ड्रिल गर्ने अथवा किला ठोक्ने काम परेमा पाइप नभएको ठाँउमा गर्नुपर्छ ।
(महर्जन मंगलम् इन्डस्ट्रिजमा कार्यरत छन्)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया