अर्थ / बाणिज्य

जाडोले लोड बढ्दा उपत्यकाका ६० ट्रान्सफरमर जले

बत्ती जाँदैन, ढुक्क हुनुहोस् : कुलमान

इकागज |
पुस १६, २०७८ शुक्रबार १६:२२ बजे

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले उपत्यकालगायत देशका विभिन्न ठाउँमा झ्याप झ्याप बत्ती जाने समस्या आपूर्तिमा अवरोध नभई क्षणिक भएकोले आम उपभोक्तालाई ढुक्क हुन आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्राधिकरणमा पत्रकार सम्मेलन आयोजना गर्दै विभिन्न अल्पकालीन प्राविधिक समस्याका कारण आपूर्तिमा क्षणिक अवरोध भएको बताए । 

अस्ति पानी पर्ने अघिल्लो दिन मंगलबार र पानी परेको दिन बुधबार विद्युत्‌मा अप्रत्याशित माग वृद्धि भएका कारण उपत्यकाका तीन हजार ८ सय वितरण ट्रान्सफरमध्ये ६० वटा जलेपछि विभिन्न ठाउँमा आपूर्ति अवरुद्ध भएको घिसिङले बताए । 


यस्तो अवरोध विद्युत् उपलब्धता अभावका कारण नभई वितरण प्रणालीमा देखिएका समस्याका कारण भएको घिसिङको भनाइ थियो । ‘पिक डिमाण्ड (साँझ पख) को माग १७ सय मेगावाट थियो भने बिहानको १५५० देखि १६०० मेगावाटसम्म थिए,’ घिसिङले भने ‘पानी पर्नुअघि र पानी परेपछि विद्युत्को माग धेरै बढ्यो, बढेको माग केही वितरण ट्रान्सफरहरुले थेग्न सकेनन् भने कतिपय ठाउँमा तार नै जल्यो ।’

बिग्रिएका ट्रान्सफरमरलाई तुरुन्तै पुनःस्थापित गर्न सकिने भए पनि फिडर बिग्रेमा मर्मत गर्न ट्रान्सफरमरकोभन्दा बढी समय लाग्ने घिसिङले जानकारी दिए । जाडोका कारण हिटर, एसी लगायत धेरै बिजुली खपत हुने साधनको एकैचोटि प्रयोगमा आउँदा अनपेक्षित तवरले विद्युत माग बढ्न गई ट्रान्सफरमहरु जल्न पुगेका हुन् ।

घिसिङका अनुसार सिंहदरबारभित्र फिडरमा आगलागी हुँदा मर्मत गर्न पूरा दिन लागेको थियो । यले गर्दा अनामनगर र डिल्लीबजारलगायतका क्षेत्रमा लामो समय विद्युत् आपूर्ति ठप्प भयो । ‘यी र यस्ता कारणले केही उपभोक्ताको घरमा सहज बिजुली आपूर्ति हुन सकेन, यो लोडसेडिङ गरिएको होइन, लोडसेडिङ गर्नुपर्ने अवस्था पनि छैन,’ घिसिङले भने, ‘सानातिना प्राविधिक समस्याले एकैसाथ विभिन्न ठाउँमा आपूर्ति अवरोध हुँदा त्यसलाई लोडसेडिङ गरिएको भन्ने नबुझिदिन म आम नागरिकलाई अनुरोध गर्दछु ।’

अत्यधिक विद्युत् खपत हुने समय (पिक) मा भारतबाट आयात गर्नु नपरेको, माथिल्लो तामाकोसी, कालीगण्डकी ए, मस्र्याङ्दी, तल्लो मस्र्याङ्दी, मध्य मस्र्याङ्दी लगायत प्राधिकरण र उसका सहायक कम्पनीले उत्पादन गरेको विद्युत नै पर्याप्त रहेको उल्लेख गरे । 

प्राधिकरणले ट्रान्सफरमर जलेको खबर पाउनेबित्तिकै तत्काल गएर फेर्ने गरेको र यही फेर्न लाग्ने समयसम्म मात्र ग्राहकको घरमा बिजुली नआएको उल्लेख गर्दै घिसिङले भने, ‘वर्षायाममा ट्रान्सफरमरहरु ५० प्रतिशत लोडमा चलेका हुन्थे, जाडोमा त्यसमाथि पानी परेपछि ती ट्रान्सफरमरहरु ओभर लोड (थेग्न नसक्ने) भए ।’

घिसिङले एकाध स्थानमा भएका ट्रिपिङ (बत्ती जाने समस्या) हटाउन नसकेको बताए । उनले लगनखेल वितरण केन्द्र अन्तर्गतको इमाडोल इलाकामा ५० देखि ६०, त्यस इलकाका आसपासमा २० देखि ३०,  रत्नपार्क वितरण केन्द्र अन्तर्गत केही स्थानका ट्रान्सफरमरहरुमा समस्या देखिएको जानकारी दिए । ‘आज बेलुकीसम्म सबै बिग्रिएका ट्रान्सफरमरहरु परिवर्तन हुनेछन्,’ घिसिङले भने । 

उपत्यकामा २ हजार मेगावाटको माग भए पनि व्यवस्थापन गर्न सकिने गरी प्राधिकरणले विभिन्न अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाइरहेको घिसिङले बताए । प्राधिकरणले मातातीर्थ, चोभार, टेकु, फुटुङ, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारी र लगान गरी नौ स्थानमा नयाँ सवस्टेशन निर्माणका लागि टेण्डर भइसकेको उनले जानकारी दिए । ‘यी सवस्टेशनहरु निर्माण भएपछि थप एक हजार मेगावाट बिजुली आपूर्तिमा सहजता आउनेछ,’ उनले भने ।  


Author

थप समाचार
x