अर्थ / बाणिज्य

अंग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

इकागज |
पुस १९, २०७८ सोमबार १४:१३ बजे

        'सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले ।
        घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।।
        नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो ।
        संसारमा महान् ख्याति पोखराको हुने थियो ।।' 

संस्कृत साहित्यका महाकवि कालिदासको प्रसङ्ग उल्लेख गर्दै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । 


प्रकृतिको बरदान पोखरा स्वदेश तथा विदेश सबैतिर पर्यटकीय रुपमा चासो चर्चा पाएकोस्थल हो नै विभिन्न चाडपर्वदेखि नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष यस स्थानमा पर्यटक भरिने गरेका छन् ।

कोभिडका कारण दुई वर्षयता प्रभावित पर्यटन विस्तारै चलायमान हुँदै गएको अवस्थामा हालै भित्रिएको अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँ चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा क्रिसमसदेखि नै चहलपहल बढेको बताउने यहाँका पर्यटन व्यवसायीमा डिसेम्बर ३०, ३१ र जनवरी १ मा देखिएको पर्यटकको चापले थप आशा जगाएको छ ।

कोभिडले थलिएको पर्यटन विस्तारै चलायमान हुन थालेको र अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मूलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एण्ड बार एशोसिएशन(रेवान) ले गर्दै आएको सडक महोत्सवका कारण पनि यो समय स्वदेशी एवं विदेशी पर्यटकको पोखरामा आकर्षण बढ्ने गरेको छ ।

पोखरामा पर्यटकस्तरीय एक हजार होटेल रहेकामा लेकसाइड आसपासका क्षेत्रमा सात सय होटेल रहेको जानकारी दिँदै उनले यहाँका होटलमा ३० हजारभन्दा बढी शय्या रहेको बताए । अंग्रेजी नयाँ वर्षमा क्षमताको करिब ८० प्रतिशतसम्म होटेल पर्यटकले भरिएको उनले जानकारी दिए । कोभिडको महामारी पश्चात पहिलोपटक यतिका सङ्ख्यामा पर्यटक भरिएको जनाउँदै उनले भारतीय पर्यटकको बढ्दो आकर्षले आफू उत्साहित बनेको बताए ।

पर्यटन व्यवसायीका अनुसार यस पटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक पोखरा आएका थिए । पोखरा आएका भारतीय पर्यटक धेरैजसोले उहीँबाट सवारीसाधन लिएर आएको र कतिपय मोटरसाइकलमा समेत आएको व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्ष पोखराको आकर्षण जस्तै बनेको बताउने रेष्टुराँ एण्ड बार एशोसिएशन(रेवान) का अध्यक्ष लक्ष्मण बराल रेवानले यस पटक २३औँ संस्करणको पोखरा सडक महोत्सव सम्पन्न गरेको बताए । 'अङ्ग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सव पोखराको पहिचान जस्तै बनेको छ,' उनले भने, 'आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकलाई पनि यस सडक महोत्सवले लोभ्याउने गरेको छ ।'

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीदचोकदेखि कोमागाने पार्कहुँदै हल्लनचोक खहरे क्षेत्रसम्म गरिएको महोत्सव हेर्नका लागि यस पटक भारतीय पर्यटकका साथै देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटक यहाँ आएका थिए ।

महोत्सवका अवसरमा सडकमै खाना खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम गरिएको थियो । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २३ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ ।

सडक महोत्सवका अवसरमा नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहारलगायतका स्थानबाट आएका पर्यटकका कारण यसले दीगो पर्यटनमा पनि टेवा पुग्ने देखिएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) गण्डकी प्रदेशका अध्यक्ष सोम थापाले बताए । 'नेपालसँग सीमा जोडिएका भारतका सहरबाट पर्यटक आउनुले यहाँको पर्यटनमा सकारात्मक सन्देश दिएको छ,' उनले भने, 'कोभिडले थलिएको पर्यटनको पुनरुत्थानका लागि आन्तरिक पर्यटनको विकाससँगै सीमावर्ती क्षेत्रबाट अधिकतम पर्यटक ल्याउनेतर्फ जागरुक बन्नु अपरिहार्य छ ।'

अङ्ग्रेजी नयाँ वर्षको आमगन पूर्व डिसेम्बर ३०, ३१ र जनवरी १ मा पोखरा पर्यटकले भरिएको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं होटल एलेगेन्ट, गौरीघाट लेकसाइडका सञ्चालक बोबरजङग गुरुङले बताए । क्रिसमसदेखि नै पर्यटकको चहलपहल बढिरहेको बताउँदै उनले पछिल्ला तीन दिन भने कतिपय होटेलमा क्षमताको ८५ प्रतिशतसम्म होटेल भरिएको जानकारी दिए । रासस


Author

थप समाचार
x