नेपाली र हिन्दी कवितासंग्रह लिएर आए वसन्त चौधरी
काठमाडौँ- साहित्यकार वसन्त चौधरीद्वारा लिखित नेपाली र हिन्दी भाषामा लिखित दुई कवितासंग्रह सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले लेखेको नेपाली भाषाको ‘तिमीविनाको म’ र हिन्दी भाषाको ‘अनेक पल और मै’ लोकार्पण गरिएको हो । लूनकरणदास-गंगादेवी चौधरी साहित्य कला मन्दिरले अयोजना गरेको उक्त कार्यक्रमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वरिष्ठ कवि तथा कार्यक्रमका सभापति तुलसी दिवसले शुभारम्भ गरेका थिए ।
कार्यक्रममा काव्यकृति ‘तिमीविनाको म’ की प्रकाशक मेघा चौधरीले वसन्त चौधरी आफ्नो पिता भएकाले मात्रै कृति प्रकाशन नगरेको बताइन् । उनले पिताको साहित्य र सिर्जनाको लगाव देखेर प्रकाशकको अभिभारा लिएको प्रस्ट्याइन । ‘मैले मेरा पिता वसन्त चौधरीको कविता पढेको छु, बुझेको छु । ‘तिमीविनाको म’ प्रकाशनको अभिभारा उहाँ मेरो बुबा भएर मात्रै लिएको होइन । मनैबाट अभिप्रेरित भएर यस कृतिको प्रकाशन गर्ने प्रण गरेकी हुँ,’ उनले भनिन् ।
बुबा कार्यालयमा व्यवसायको काममा भन्दा साहित्य र सिर्जनामा रमाउने भएकाले आफूले सिर्जनाको माध्यमबाट खुसी दिन खोजेको बताइन् । ‘मैले बुबालाई व्यापार व्यवसायमा भन्दा कविता र सिर्जनामा रमाएको देखेकी छु । उहाँलाई कार्यालयमा उद्योग व्यवसायको काममा व्यस्त हुँदा सधैँ चिन्ता र तनावमा देख्थेँ । जब कविता लेख्न थाल्नुहुन्छ, साहित्यिक कृति पढ्न थाल्नुहुन्छ उहाँको अनुहारमा आनन्द अनुभूतिका संकेत देख्छु । त्यसैले पनि यस कृतिको प्रकाशन आफैँ गरेकी हुँ ।’
यस कविता संग्रहले पछिल्ला पुस्तालाई नेपाली भाषा बोल्न र पढ्न सरल हुने उनले बताइन् । ‘पछिल्ला पुस्ताले नेपाली भाषा बोल्न सक्छन् । तर, नेपाली भाषा पढ्न सक्दैनन् । यो कविता संग्रह त्यो पुस्तासम्म पुग्नुपर्छ । यो आफैँमा पुस्तान्तरण पनि हो,’ चौधरीले भनिन् । कार्यक्रममा समीक्षात्मक मन्तव्य राख्दै प्राध्यापक भुवना ढुंगानाले चौधरीको ‘तिमीविनाको म’ कवितासंग्रह पढेपछि ‘ह्युमन नेचर’बारे थप जान्न मन लागेको बताइन् । उनले भनिन्, ‘मलाई ‘तिमीविनाको म’ अध्ययन गरेपछि ‘ह्युमन नेचर’को बारेमा पनि सोच्न बाध्य बनायो ।
कवि व्यस्त छन्, उनीसँग थुप्रै दायित्वहरू छन् । यस्तो व्यस्तताका बाबजुद कविता लेख्ने समय कसरी निस्कियो आफैँमा महत्वपूर्ण छ ।’ उनले ‘तिमीविनाको म’ अध्ययन गरेपछि जति धन भए पनि मानिस सानो–सानो खुसीमा पनि अल्झिने अनुभूत गराएको बताइन् । ‘मानिस धनसम्पत्ति भएपछि खुसी हुन्छ भन्ने आमधारणा छ । यो धारणालाई चिर्दै आफ्नो व्यस्त समयमा पनि कविता लेख्नु आफैँमा दर्शन हो । मानिस सानोसानो खुसीमा पनि अल्झिने रहेछन् । त्यसैले उहाँलाई खुसी दिने साहित्य र साधना पनि रहेछ भन्ने अनुभूत गराउँछ,’ उनले भनिन् । ढुंगनाले चौधरीको काव्यकृतिमा प्रकृति, प्रेम, जीवनको मूल लक्ष्य, जीवनको खुसी समेटिएको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया