अर्थ / बाणिज्य

नयाँ नक्सा भएको १ रुपैयाँको सिक्का छाप्दै राष्ट्र बैंक, ३० करोड सिक्का छाप्‍न टेन्डर

इकागज |
पुस २०, २०७७ सोमवार १४:३७ बजे

काठमाडौं : नेपाल राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको मुलुकको नयाँ नक्सा भएको एक रुपैयाँको सिक्का छाप्‍ने भएको छ । ३० करोड सिक्का छाप्‍नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।

भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेट्न स्वीकृति दिएको थियो ।  सोही अनुसार राष्ट्र बैंकले टेन्डर खुलाएको हो ।

२०७४ सालमा राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका सिक्का छापेको थियो । अघिल्लोपटक राष्ट्र बैंकले ०६६ सालमा उक्त दरका सिक्का छाप्‍न दिएको थियो। छाप्‍न दिएको करिब दुई वर्षपछि ०६८ सालमा सिक्का ल्याइएको थियो । त्यसबेला एक रुपैयाँ दरका ५२ करोड रुपैयाँको र दुई रुपैयाँ दरका ४४ करोड रुपैयाँको सिक्का छापिएको थियो ।


दुई रुपैयाँ दरका २० करोड सिक्का छाप्नका लागि पनि छुट्टै टेन्डर खुलाउने तयारीमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

पछिल्लो समय महंगी बढ्दै गएपछि खुद्रा पैसाको अस्तित्व क्रमशः हराउँदै गएको छ। खुद्रा पैसाले केही सामान नपाइने भएपछि राष्ट्र बैंकले पनि साना नोट र सिक्का निकाल्न कम गरेको हो । राष्ट्र बैंकले पछिल्लो समय एक र दुई रुपैयाँका कागजी नोट पनि छाप्‍न छाडेको छ । केही वर्षअघि खुबै प्रचलनमा आउने एक र दुई रुपैयाँ दरका सिक्का पनि निकाल्न क्रमशः कम गर्दै गएको छ ।

केही वर्ष अघिसम्म राष्ट्र बैंकले एक, दुई, पाँच र १० रुपैयाँका नोट बढी छाप्‍न गरेको थियो। तर, अहिले ती नोटले चकलेट पनि नआउने परिस्थिति बनेपछि छाप्‍ने क्रममा पनि कमी आएको छ । अहिले राष्ट्र बैंकले पनि बढी प्रचलनमा आउने २०, ५०, १००, ५०० र हजारका नोट छापिरहेको छ ।

सिक्का छपाइ विदेशमा सस्तो

राष्ट्र बैंकले नेपालमै सीप र प्रविधि रहेको भएपनि पछिल्ला केही वर्षयता एक र दुई रुपैयाँ दरका सिक्का विदेशमा बनाएर ल्याउने गरेको छ ।

स्वदेशमा सिक्का बनाउँदा सिक्काको दरभन्दा सिक्का बनाउँदा प्रयोग हुने धातुको मूल्य महंगो पर्छ ।

तर राष्ट्र बैंकको सिक्का छपाइसम्बन्धी टक्सार महाशाखामा रहेका नयाँ तथा पुराना मेसिन एवम् जनशक्ति, स्मारिका सिक्का र तक्मा तथा पदकहरू छपाइमा सीमित बनेका छन् । २५ र ५० पैसा दरका सिक्काको छपाइ झण्डै एक दशकअघि देखि नै बन्द भएको हो ।


Author

थप समाचार
x