अर्थ / बाणिज्य

सेयर बजार परिसूचकको उकालो यात्रा

सेयर बजार २८ सय अंकमाथि

इकागज |
पुस २७, २०७८ मंगलबार १५:२२ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब दुई महिनापछि २८ सय अंकमाथि उक्लिएको छ । गत साताबाट कारोबारमा सुधार हुँदै आएको परिसूचक आज ४९ अंकले बढेर समग्र बजार परिसूचक २८३४.१३ अंकमा पुगेको हो । यस अघि गत मंसिर १ गते नेप्से परिसूचक २८०१.५२  अंकमा पुगेको थियो । त्यसयता बजारमा तरलता अभाव देखिँदा बजार निरन्तर घटेको थियो ।

कोभिड संक्रमण दर बढ्दै जाँदा अन्य क्षेत्र ठप्प हुने हुँदा लगानीकर्ता भने सेयर बजारमा झुम्मिने गरेका छन् । हाल दैनिक कोभिड संक्रमणको ग्राफ बढ्दो देखिएको छ । यसले गर्दा अन्य क्षेत्रको लगानी सेयर बजारमा आउने देखिन्छ । सेयर बजारमा मंगलबारको कारोबारमा नेप्से परिसूचक २८३४.१३ विन्दूमा पुगेर बजार बन्द भएको छ ।


आज सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.७७ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.२८ प्रतिशतले बढेको छ । आज कारोबार रकम भने घटेको छ । नेप्सेमा २३२ कम्पनीको ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रूपैयाँ बराबरको १ करोड १९ लाख ७० हजार २ सय १५ कित्ता सेयर ७७ हजार १५ पटक खरिद बिक्री भएको छ ।

आइतबार र सोमबार ७ अर्बमाथिको कारोबार भएको थियो । मंगलबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये १७० कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने १९ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बढ्दो बजारमा माउन्टेन इनर्जी नेपाल, नेपाल एसबीआई बैंक, शिभम् सिमेन्ट, एनएमबि, तथा रुरु जलविद्युतको सेयर मूल्य घटेको छ ।

 आज नारायाणी विकास बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, कर्पोरेट विकास बैंक, मध्य भोटेकोशी जलविद्युत परियोजना कम्पनी लिमिटेड  सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । सर्वाधिक कारोबार गर्ने पाँच कम्पनीमा गुर्खाज फाइनान्स, नेपाल दुरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अपि पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी रहेका छन् ।


Author

थप समाचार
x