अर्थ / बाणिज्य

पटक-पटक सर्दै आएको अन्तर-आबद्धता निर्देशिका माघ १ देखि

नयाँ अन्तर-आबद्धताले मोबाइलमा ४४ पैसा सस्तो हुने

इकागज |
पुस २७, २०७८ मगलवार १६:४१ बजे

काठमाडौँ - नेपाल दुरसञ्चार प्राधिकरणले २०७६ चैतबाट लागू गर्ने भनिएको टेलिकम कम्पनीहरूको अन्तर-आबद्धता शुल्क आगामी माघ १ गतेबाट कार्यान्वयनमा आउने भएको छ । पटक-पटक भाका सर्दै आएको अन्तर आबद्धता शुल्कलाई २०७६ मा  नै नेपाल दुरसञ्चार प्राधिकरणले लागू गर्ने तयारी गरेको थियो तर सेवा प्रदायकले पटक-पटक समय माग गर्दै आएका कारण पनि लागू मिति सर्दै आएको थियो ।

अन्तर-आबद्धता शुल्क लागू भएको खण्डमा नेपाल टेलिकम, एनसेल तथा स्मार्टसेलबाट अन्य सेवाप्रदायकमा गरिने फोनको शुल्कमा झन्डै ४४ पैसा सस्तो हुनेछ । हाल नेपाल टेलिकमको नेटवर्कबाट अन्य कम्पनीका प्रिपेड सिममा कल गर्दा प्रतिमिनेट १ रूपैँया ५० पैसा लाग्ने गरेको छ। टेलिकमकै पोस्टपेड सिमबाट कल गर्दा प्रतिमिनेट १ रूपैँया लाग्छ। यदि माघबाट यो शुल्क घटेर प्रिपेडबाट प्रतिमिनेट १ रूपैँया ६ पैसा र पोस्टपेडबाट ६६ पैसा लाग्ने प्राधिकरणले जनाएको छ।


त्यस्तै, एनसेलबाट अन्य टेलिकम सेवा प्रदायकको नम्बरमा कल गर्दा प्रतिमिनेट २ रूपैँया ५४ पैसा लाग्दै आएको छ। निर्देशिकाअनुसार एनसेलबाट नेपाल टेलिकम वा स्मार्टसेलमा कल गर्दा प्रतिमिनेट दुई रूपैँया १० पैसा मात्र लाग्ने छ।

यस्तै हाल स्मार्टबाट अन्य टेलिकम कम्पनीमा कल गर्दा प्रतिमिनेट १ रूपैँया ९२ पैसा लाग्दै आएको छ। अब स्मार्टसेलबाट अन्य टेलिकम कम्पनीहरूमा कल गर्दा प्रतिमिनेट १ रूपैँया ४८ पैसा लाग्ने छ ।

दूरसञ्चार प्राधिकरणले अध्ययन गरेरै त्यसको प्रतिवेदनअनुसार एकैपटक अन्तर-आबद्धता शुल्क ४४ पैसा घटाउन लागेको हो। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले हालसम्मको स्थितिमा माघ १ गते गतेदेखि अन्तर-आबद्धता निर्देशिकाले तोकेको शुल्क कार्यान्वयनमा ल्याउने निर्णय भएको जानकारी दिए । 'हालसम्मको स्थितिमा त्यो निर्देशिका लागू गर्ने योजनाा रहेको छ' उनले इकागजसँग भने ।  

यसअघि २०७६ चैतदेखि यो निर्देशिका लागू गर्ने योजनाामा दुरसञ्चार प्राधिकरण रहेको थियो । यस निर्देशिका कार्यान्वयन भएमा अन्तर-आबद्धता शुल्क घट्दा टेलिकम कम्पनीहरूले भने आफूहरूको नाफा घट्ने तर्क गर्दै कार्यान्वयन गर्न अनिच्छुक हुँदै विभिन्न तर्कले यसको कार्यन्वयन हुन सकेको थिएन।

यस निर्देशिका लागू भएपश्चात एक सेवा प्रदायकले अर्को प्रदायकमा कल गर्दा १० पैसा भन्दा बढी लिन पाइदैन । यसले गर्दा आफ्नो आम्दानीमा असर पार्ने भन्दै सेवा प्रदायकले विभिन्न तर्कअघि सार्दै यसलाई लागू  गर्नबाट  पछि हट्दै आएका थिए ।

के भन्छन् त सेवा प्रदायक ?

उता पटक-पटक कार्यन्वयन टार्दे आएका सेवा प्रदायकहरू यसपटक पनि कसरी टार्ने भन्ने योजनामा रहेको जस्तो देखिन्छ । अन्तर-आबद्धता लागू भएमा आम्दानीमा भारी गिरावट आउने देखिएपछि यसलाई कसरी टार्ने भन्नेमा सेवा प्रदायकहरू रणनिति बनाउन लागेका देखिन्छन् । इकागजले सेवा प्रदायकलाई सम्पर्क गर्दा अन्तर-आबद्धता शुल्क लागू गर्ने विषयमा सेवा प्रदायक छलफलमा रहेको बताउँछन् ।

नेपाल टेलिकम,एनसेल तथा स्मार्टसेल नेपालमा मोबाइल सेवा प्रदान गर्दै आइरहेका छन् । अन्तर आवद्धता शुल्कको विषयमा टेलिकम भने छलफलमा रहेको जनाइएको छ । टेलिकम प्रवक्ता राजेश जोशी यस सम्बन्धमा टेलिकममा छलफल चलेको बताउँछन् । अन्य सेवा प्रदायक भने प्राधिकरणबाट आएको निर्देशनअनुसार लागू गर्ने योजनामा रहेको बताउँछन् ।

झन्डै दुई वर्ष अघिदेखि निर्देशिका लागू गर्ने भन्दै पटक-पटक भाका सार्दै आएको प्राधिकरणले अबको केही दिनमा निर्देशिका सेवा प्रदायकलाई यस निर्देशिका कार्यान्वयन गर्न सक्छ या सक्दैन भन्नेमा भने माघ १ लाई नै पर्खनु पर्ने देखिन्छ ।

 


Author

थप समाचार
x