अर्थ / बाणिज्य

अजोड इन्स्योरेन्स क्लियरिङ हाउसको एनपीआई प्रणालीमा आबद्ध

इकागज |
पुस २८, २०७८ बुधबार १७:४७ बजे

काठमाडौँ - अजोड इन्स्योरेन्स कम्पनी, नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच (एनपीएस)अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिएको छ । 

एनपीआईमा आबद्धतासँगै अब कम्पनीले आफ्ना भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएको छ ।


सोसम्बन्धी सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै अब कम्पनीले आफ्ना आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू यस प्रणाालीमा आबद्ध बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।

यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्‍याउने बताइएको छ । अब यी सबै कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभग्राहीहरूका बैंक खाताहरूबाट हुनेछन् । 

यसरी एनपीआईमा जोडिएपछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित रूपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा अजोड इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्त्वपूर्ण भूमिका रहेको छ जसले अजोड इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।  

अजोड इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरूले आफ्नो बीमा प्रिमियम शुल्क कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै १० जीवन तथा निर्जीवन बीमा कम्पनीहरू यसअघि नै एनपीआईमा आबद्ध भइसकेका छन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा एनपीआईको विकास गरिएको हो । यसमा हालसम्म ६० सदस्य बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपीर पीएसओ, रेमिट्यान्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरूलगायत ७१ गैरबैंकिङ संस्थाहरू अनौपचारिक रूपमा प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।


Author

थप समाचार
x