अर्थ / बाणिज्य

भूकम्पमा क्षतिग्रस्त १ लाख २६ हजार घर निर्माण बाँकी

फागुन १५ सम्म निमार्ण पूरा गर्दा बाँकी किस्ता पाइने

कमल धिताल |
पुस २९, २०७८ बिहीबार १३:५३ बजे

काठमाडौँ - २०७२ सालको विनाशकारी भूकम्‍पले झण्‍डै ९ हजार मानिहरूको ज्‍यान लियो ।  ८ लाख भन्दा बढी घरमा क्षति पुर्‍यायो । सार्वजनिक क्षेत्रतर्फ ७ हजार ५ सय ५३  विद्यालयल भवन,  १ हजार १९७ स्वास्थ्य संस्था,९२० साँस्कृतिक सम्पदालगायत भौतिक संरचनामा क्षति गर्‍यो । क्षतिग्रस्त भौतिक संरचना पुनर्निमाण गर्न तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला नेतृत्‍वको सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण गठन गर्‍यो । पटक-पटक सरकार फेरिएसँगै प्रमुखहरू पनि फेरिए । पछिल्लो समय सुशिल ज्ञवाली प्रमुख कार्यकारी अधिकृत थिए । 

भूकम्‍प गएको झन्डै ७ वर्ष पुग्न आँट्‍यो तर, सरकारले प्राधिकरणको म्याद नथपेपछि पुस ९ गतेदेखि त्यसको अस्तित्व सकियो । पुनर्निमाण भने अझै पूर्णरूपले सम्पन्न हुनसकेको छैन। अब बाँकी रहेका संरचनाहरू सम्पन्न गर्न सरकारका विभिन्न मन्त्रालयले जिम्मा पाएका छन् ।


हस्तान्तरण हुँदासम्म यस्तो थियो प्रगति

राष्ट्रिय पुनर्निमाण प्राधिकरणको हस्तान्तरणअघि सार्वजनिक गरेको पुनर्निमाणको तथ्यांकअनुसार आवास पुनर्निमाणको लागि अनुदान सम्झौता गरेका लाभग्राही ८ लाख २९ हजार ६ सय ६७ थिए । जसमा पहिलो किस्ता लिएका लाभग्राही ८ लाख २८ हजार ७ सय ६३ छन् । त्यस्तै दोस्रो किस्ता लिएका लाभग्राही ७ लाख ५० हजार ४ सय ५९ छन् । त्यस्तै तेस्रो किस्ता लिएका लाभग्राहीको संख्‍या ७ लाख ३ हजार ३ सय ७ छ ।

७ लाख ३ हजार ३ सय ७ ले आवास पुनर्निमाण गरेको तथ्यांकले देखाउँछ । पहिलो किस्ता लिनेमध्ये ७८ हजार ३ सय ४ जनाले दोस्रो किस्ता लिएका छैनन् । त्यस्तै दोस्रो किस्ता लिएकामध्ये ४७ हजार १ सय ५२ ले तेस्रो किस्ता लिएका छैनन् । पुनर्निमाणको सम्झौताअनुसार अझै १ लाख २६ हजार ३ सय ६० घरहरू निर्माण हुनै बाँकी छन् ।

सार्वजनिक क्षेत्रतर्फ क्षति भएका विद्यालयल भवन ७ हजार ५ सय ५३ मध्ये हालसम्म ६ हजार ६ सय ४७ सम्पन्न भएका छन् । ९ सय ३६ विद्यालय निर्माण सम्पन्‍न हुन बाँकी छन्। स्वास्थ्य संस्थाका क्षति भएका १ हजार १ सय ९७ भवनमध्ये ७ सय ५१ पुनर्निमाण सम्पन्न भएका छन् । ३ सय ५४ भवन निमार्ण सम्पन्न हुन बाँकी छन् । त्यस्तै साँस्कृतिक सम्पदातर्फ क्षति भएका ९२० मध्ये ६ सय ६ सम्पन्‍न भएका छन् भने २ सय ८८ पुनर्निमाण हुन बाँकी छन् । सरकारी भवनमा क्षति भएका ४ सय १५ मध्ये ३ सय ८८ पुनर्निमाण भएका छन् भने २० भवन पुनर्निमाण हुन बाँकी छन् । यसरी हेर्दा अन्य भवनहरू निमार्ण सम्पन्‍नको अन्तिम चरणमा पुग्दा अझै १ लाख भन्दाबढी आवास भने निर्माण सम्‍पन्‍न हुन बाँकी रहेको देखिन्छ ।

आवास पुनर्निमाण कसको जिम्मा ?

राष्ट्रिय पुनर्निमाण प्राधिकरण अवधि सकिएपछि हाल भूकम्‍पपछिको पुनर्निमाणमा सहरी विकास मन्त्रालयले जिम्मा लिएको छ । प्राधिकरणले म्याद समाप्तअघि सरकारको विभिन्न मन्त्रालयलाई यसको जिम्मा लगाइसकेको छ । प्रथम किस्ता लिएका १ लाख २६ हजार ३ सय ६० घरहरू निर्माण हुनै बाँकी छन् । सहरी विकास मन्त्री रामकमारी झाँक्रीको काँधमा यसलाई अब पुरा गर्नुपर्ने दायित्व आएको छ । पुनर्निमाण प्राधिकरणले झन्डै ९० प्रतिशत पुरा गरेको आवास पुनर्निमाण कार्यक्रमलाई झाँक्रीको मन्त्रालयले कति समयमा पूरा गर्छ ? हेर्न बाँकी छ । 

चैतसम्म किस्ता लिने म्याद

आफ्नो जिम्मामा आएपछि सहरी विकास मन्त्रालयले आवास पुनर्निमाण गर्नको लागि पहिलो किस्ता लिएका लाभग्राहीलाई चैत २६ सम्म म्याद दिएको छ । अर्थात बाँकी किस्ता लिनको लागि लाभग्राहीले आगामी फागुन १५ सम्म निवेदन प्रक्रिया पूर्ण भएको निवेदन दिनुपर्नेछ । किस्ता लिन बाँकी रहेका १ लाख २६ हजार लाभग्राहीले किस्ताको लागि निवेदन दिँदा मुल्याकंनको आधारमा किस्ता दिने मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले बताए । 'बाँकी रहेका घर निमार्णको लागि मन्त्रालयले फागुन १५ सम्ममा निवेदन दिनुपर्नेछ । 'फागुन १५ गते गतेसम्मको म्याद दिएको र सो अवधिमा परेको निवेदनलाई मुल्याङ्कन गरेर चैत २६ सम्ममा किस्ता दिने तयारी छ' शर्माले इकागजसँग भने ।

कसरी लिने किस्ता ?

भूकम्‍पको किस्ता लिनको लागि पुरानै प्रक्रिया रहेको सहरी विकास मन्त्रालयका प्रवक्ता शर्मा बताउँछन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले हाल मन्त्रालयलाई आवास हस्तान्तरणको जिम्मा दिएको भए पनि किस्ता लिने प्रक्रिया भने पहिले जस्तै रहेको शर्मा बताउँछन् । आवास निर्माण किस्ता लिनको लागि लाभग्राहीले आगामी फागुन १५ सम्म सम्पूर्ण प्रक्रिया पुरा गरेर निवेदन दिनुपर्ने शर्माले जानकारी दिए । यसरी आएको निवेदनमा मन्त्रालयले चैत २६ सम्ममा लाभग्रहीको खातामा रकम पुर्‍याउने जानकारी दिए । चैत २६ पछि भने म्याद थपिने कुनै सम्भावना नरहेको प्रवक्ता शर्माको भनाइ छ । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x