अर्थ / बाणिज्य

सेयर बजार ५४ अंकले बढ्यो

इकागज |
पुस २९, २०७८ बिहीबार १५:१६ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार ५४.१२ अंकले बढेको छ । साताको कारोबार बन्द हुने दिन समग्र बजार परिसूचक बढेर २८५७.७५ अंकमा पुगेको छ । बजारमा तरलता अभाव घट्दै गएपछि सेयर बजारमा लगानी बढ्दै गएको देखिन्छ । साताको ५ दिन कारोबार मध्ये ४ दिन उकालो लागेको बजार परिसूचक बुधबारको कारोबारमा भने ३० अंकले घटेको थियो ।

कोभिड संक्रमण दर बढ्दै जाँदा अन्य क्षेत्र ठप्प हुने हुँदा लगानीकर्ता भने सेयर बजारमा झुम्मिने गरेका छन् । हाल दैनिक कोभिड संक्रमणको ग्राफ बढ्दो देखिएको छ । यसले गर्दा अन्य क्षेत्रको लगानी सेयर बजारमा आउने देखिन्छ ।


बिहीबार अंकले ५४.१२ बढ्दा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.९३ प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.७१ प्रतिशतले अर्थात ८.९४ अंकले बढेर ५३०.८३ अंकमा पुगेको छ । बुधबार बजार घट्दा पनि ८ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज भने कारोबार रकममा कमी आएको छ । नेप्सेमा २२४ कम्पनीको ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रूपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर ७७ हजार ६६८ पटक खरिद बिक्री भएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये १७९ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ८ कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बढ्दो बजारमा नबिल डिबेन्चर, एनआइसी एसिया सेलेक्ट फण्ड, नारायाणी डेभलोमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, स्टान्डर्ड चार्टड बैंकको सेयर मूल्य घटेको छ ।

बिहीबार सर्वाधिक कमाउने गर्ने पाँच कम्पनीमा मध्य भोटेकोशी जलविद्युत, माउन्टेन हाइड्रो नेपाल, कर्णाली विकास बैंक, शिव श्री हाइड्रो पावर, आइसीएफसी फाइनान्स रहेका छन् ।


Author

थप समाचार
x