अर्थ / बाणिज्य

चेपे खोलाको विद्युत चैतभित्रै राष्ट्रिय प्रसारणमा जोडिने

इकागज |
पुस ३०, २०७८ शुक्रबार १८:५५ बजे

लमजुङ -  लमजुङ र गोरखाको सीमामा निर्माणाधीन ८.६ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भएको छ । निर्माण सुरु भएको १४ महिनामा आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । 

कोभिड–१९ महामारीकाबीच पनि बिना अवरोध निर्माण जारी राखिएकाले १४ महिनामै आयोजनाको काम अन्तिम चरणमा पुर्‍याइएको प्रवर्द्धक आशुतोष इनर्जी कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए ।


२०७७ कात्तिकदेखि आयोजना स्थलमा संरचना निर्माणको काम सुरु गरिएको थियो । आयोजनाको ३ हजार ४ सय ५५ मिटर लामो पाइप लाइनमा १७ सय ५५ मिटर पाइप बिछ्याउने काम सकिएको छ । 

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु गर्ने तयारी भइरहेको छ । आयोजनाको विद्युतगृहमा अस्ट्रेलियास्थित ग्लोबल हाइड्रो कम्पनीले उत्पादन गरेको इलेक्ट्रोमेकानिकल उपकरण जडान हुन लागेको कार्कीले जानकारी दिए ।

उपकरण जडानको काम पनि दुई महिनाभित्र पुरा गर्ने लक्ष्य छ । सुरुको तालिकाअनुसार आयोजनाबाट आगामी (२०७८) माघ ९ गतेदेखि विद्युत् उत्पादन थाल्नु पर्ने हो । तर, सरकारले कोभिड–१९ महामारीका कारण निर्माण प्रभावित भएका आयोजनाको एक वर्ष म्याद थपको सुविधा पाएकोमा  आयोजनाले पनि चार महिना मात्रै समय थप गरेको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७५ प्रतिशत हुन आउने १ अर्ब १२ करोड ५० लाख एनएमबी बैंकले एक्लैले लगानी गरेको छ । 

विद्युत् उत्पादनका लागि सुरुको लक्ष्यभन्दा ४ महिना समय थप गरे पनि त्योभन्दा अगाडि नै प्रणाली जोड्ने गरी काम गरिरहेको कम्पनीले जनाएको छ । थपिएको समय अनुसार ०७९ असार ९ गतेभित्र आयोजनाबाट उत्पादन सुरु गर्ने पर्नेमा अब २०७८ चैतभित्र नै आयोजना सञ्चालनमा ल्याइने कार्कीले बताए ।


Author

थप समाचार
x