अर्थ / बाणिज्य

कृषि विकास बैंकमा ल्यायो विदेशी मुद्रा बचत खाता

इकागज |
माघ २, २०७८ आइतबार १४:२२ बजे

काठमाडौँ - कृषि विकास बैंकले ५५ औं वार्षिक उत्सवका अवसरमा गैर आवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्दती खाता जारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको सुरुवात पश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् ।

यसबाट विदेशमा रहेका गैर आवासीय नेपाली तथा विदेशी मुद्रामा तलब भत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरिकले आफ्नै घर-कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटबाट खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका का.मु. विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले बताइन ।


सरकारी बैंकहरुमा निक्षेप तथा कर्जाका सेवामा विविधिकरण गर्दै प्रतिस्पर्धी वित्तीय बजारमा दिगो सेवा विस्तार गर्न कृषि विकास बैंक लागि परेको छ । यो सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ । विदेशबाट शुन्य मौज्दातमा खाता खोली स्विफ्ट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । विदेशी मुद्राको खातामा प्रदान गरीने ब्याजमा समेत यो बैंक अन्य बैंक भन्दा अगाडि रहेको छ ।

हालका लागि विदेशी मुद्राको मुद्दती खातामा ५.५ प्रतिशत र बचत खातामा ४.७५ प्रतिशत ब्याज दिन सकिने कुरा बैंकले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनामा उल्लेख गरेको छ । यस अघि रेमिट्यान्स बचत खाता र रेमिट्यान्स मुद्दती खाता समेत सुरु गरी सकेको र रेमिट्यान्स बचत खातामा ७.१० तथा रेमिट्यान्स मुद्दती खातामा ११.०५ प्रतिशत ब्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । यसका साथै विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउने प्रयोजनका लागि विदेशबाटै अनलाईनका माध्यमबाट नेपाली मुद्रामा बचत तथा मुद्दती खाता खोल्न सकिनेछ ।

कृषि विकास बैंक लिमिटेडका सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न बैंक आक्रामक रुपमा प्रस्तुत भएको छ । वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हाले देखि नै बैंकले प्रविधिमा आधारित सेवा प्रवाहमा जोड दिएको छ । अनलाईनका माध्यमबाट समेत खोल्न सकिने उक्त खाताहरु सुरुवात भए पश्चात देशमा विदेशी मुद्राको संचित वृद्धि हुने तथा बैंकको निक्षेपमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

बैंकका सबै जसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोबारको दायरा फराकिलो बनाउन बैंक सधै दत्तचित रहेको हाल बैंकर्स एसोसियसन समेतको नेतृत्व सम्हालेका बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले वताए ।
     


Author

थप समाचार
x