अर्थ / बाणिज्य

यस्‍ताे छ, नेपाल टेलिकमको 'विन्टर अफर'

इकागज |
माघ २, २०७८ आइतबार १६:५६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको लागि नयाँ योजना ल्याएको छ  । टेलिकमले भोलिदेखि अर्थात माघ ३ गतेदेखि लागू हुने गरि नयाँ 'विन्टर अफर' ल्याएको हो । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । 

यस्तो छ 'विन्टर अफर'


विन्टर अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि  ५९९ रूपैयाँमा लिन सकिने 'सजिलो अनलिमिटेड प्रिपेड ५९९' मात्र उपलब्ध भइरहेकोमा अब 'सजिलो अनलिमिटेड प्रिपेड ७९९', 'सजिलो अनलिमिटेड प्रिपेड ९९९' र 'सजिलो अनलिमिटेड प्रिपेड १४९९' प्याक समेत उपलब्ध हुने भएको छ । यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी क्रमश) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता रहेको टेलिकमले जनाएको छ । 

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस अन्तर्गत २९९ रूपैयाँमा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन-नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ । त्यस्तै टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ ।

पहिलो पटक भीओएलटीई सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन-नेट कलको सुविधा पाउने छन । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ । 

यी बाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। 


Author

थप समाचार
x