अर्थ / बाणिज्य

ढल्केबर-मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्जिङ कात्तिक अन्तिम साता

इकागज |
कात्तिक ५, २०७७ बुधबार १६:१५ बजे

काठमाडौं : भारतमा पानी परेकाले र बिहारमा विधान सभाको चुनाव आउन लागेका कारण ढल्केबर–मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइन ४०० केभीमा चार्ज गर्ने कार्यक्रम आगामी कात्तिक अन्तिम सातासम्म सरेको छ । दुई देशबीच यही कात्तिक ५ गते यो प्रसारण लाइनको अधिकतम क्षमता (४०० केभी) मा चार्ज गरी विद्युत् आदान-प्रदान गर्ने कार्यक्रम थियो । हाल यो लाइन २२० केभीमा चार्जिङ भइरहेको छ । यसबाट ३०० मेगावाटसम्म बिजुली ल्याउन सकिन्छ । सुरुमा यो लाइन १३२ केभीमा चार्ज गरिएको थियो, जसबाट ८० मेगावाट आयात गरिएको थियो ।

प्राधिकरणका अनुसार ४०० केभीमा यो लाइनलाई चार्ज गरेपछि यसबाट एक हजार मेगावाटसम्मको बिजुली आदान-प्रदान गर्न सकिन्छ । नेपालतर्फ सम्पूर्ण तयारी गरी विद्युत् प्राधिकरणका पदाधिकारी यसै साता भारत गएका थिए । उनीहरुले भारतीय समकक्षीसँग वार्ता र छलफल गर्दा विभिन्‍न प्राविधिक कठिनाईका कारण नोभेम्बर १० (कात्तिक २५) पछि मात्र विद्युत् चार्जिङका लागि प्रसारण लाइन बन्द गर्न सक्ने जनाउ दिएको प्राधिकरणको प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीले बताए ।


चौधरीका अनुसार उक्त प्रसारण लाइनको हाइ भोल्टेज टेस्टिङ (परीक्षण) सफलतापूर्वक सम्पन्‍न भएको छ । अब ब्याक फिड लिएर चार्ज गर्न बाँकी छ । ‘हाम्रो सम्पूर्ण तयारी पूरा भइसकेको छ, यसैका लागि हामी भारत गएका थियौं,’ भारतबाट फर्केपछि चौधरीले बुधबार इकागजसित भने, ‘अब कात्तिक अन्तिम सातासम्म हुने सम्भावना छ ।’

भारतको मुजफ्फपुरनेर करिब ३५० मिटर खण्ड (एक स्पान) मा पानी जमेकाले बाँकी रहेको तार तान्ने काम पूरा नभएको भारतीय पक्षले जनाउ दिएको चौधरीले बताए । आगामी आइतबारसम्म उक्त जमेको पानी सुक्न समय लाग्ने र त्यसपछि लाइन सट डाउन (बन्द) गर्न सजिलो हुने उनीहरुले जानकारी गराएका थिए । त्यसबाहेक आगामी कात्तिक १२ देखि २२ गतेसम्म बिहारमा हुन लागेको विधान सभाको चुनावले पनि प्रसरण लाइन चार्जिङ योजनालाई प्रभावित तुल्याएको छ । 

हाल २२० केभीमा यो प्रसारण लाइन चार्जिङ भइरहेको छ । यो क्षमतामा चार्जिङ गर्दा यसले ६५० एमभीएको विद्युत् शक्ति प्रवाह गरिरहेको छ । यो भनको करिब ५२० मेगावाट बिजुली हो ।

४०० केभीमा चार्जिङ गर्दा एसको क्षमता १२४३ एमीए पुग्ने चौधरी बताए । यसबाट करिब एक हजार मेगावाट बिजुली आदान–प्रदान गर्न सकिन्छ । चौधरीका अनुसार जति धेरै क्षमतामा चार्जिङ गर्न सकियो, उति नै धेरै विद्युत् शक्ति (पावर) प्रवाह हुने भएकाले दुवै देशको विद्युतीय प्रणाली स्थिर र बलियो हुन्छ । गुणस्तरयुक्त बिजुलीका लागि भोल्टेजको स्थिरता अपरिहार्य मानिन्छ ।

भारतसित नेपालको विद्युत प्रसारण लाइन जोडिएपछि नेपालको विद्युत्गृहमा कदाचित् गडबडी उत्पादन बन्द भए पनि समस्या नपर्ने चौधरीले बताए । ‘उता बिजुली जाँदा हाम्रो (नेपालको) प्रणालीले सपोर्ट गर्ने भयो,’ चौधरीले भने, ‘हाम्रो यता जाँदा उता (भारत) को बिजुलीले प्रणालीलाई स्थिर पार्छ ।’ नेपालको साँझपख (पिक) को बिजुली खपतका लागि अहिले पनि भारतबाट बिजुली आयात भइरहेको छ ।  त्यसैगरी आगामी दिनमा नेपालको बढी बिजुली (सरप्लस) भारत निकासी गर्न वा पठाउन पनि यो प्रसारण लाइनको उच्च क्षमतामा गरिने चार्जिङले सघाउ पुर्‍याउने चौधरीले बताए । 
 


Author

थप समाचार
x