अर्थ / बाणिज्य

गण्डकीमा गाडी भाडा बढ्यो : अब कहाँ जान कति तिर्नुपर्छ ?

धनबहादुर गुरुङ |
माघ ४, २०७८ मंगलबार २०:१४ बजे

फाइल तस्वीर

पोखरा – गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार ट्याक्सीको भाडा ८० रुपैयाँबाट प्रत्येक दुई सय मिटरमा १० रुपैयाँ थप हुनेछ । यस्तै लामो दुरीका सवारीमा २३.५१ प्रतिशत, नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ प्रतिशत र जीपमा ५.५० प्रतिशत भाडा बढेको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री समेत रहेका प्रवक्ता खड्काले बताए । 


मन्त्रीपरिषद्को निर्णय अनुसार ट्याक्सीले ग्राहकलाई भिजिटिङ कार्ड पनि दिनुपर्ने छ । कुनै सामान छुटेमा फेला पार्न सहज हुने भएकाले यो व्यवस्था लागू गरिएको मन्त्री खड्काको भनाइ छ । ‘ट्याक्सीवालाले तत्कालै मिटर राख्नुपर्ने, नयाँ ट्याक्सीले बिलसहितको मिटर, जीपीएस सबैले जडान गर्नुपर्ने, चालकले तोकिएको पोसाक लगाउनुपर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त र ऐनले व्यवस्था गरेको रंग प्रत्येक गाडीमा हुनुपर्ने छ,’ उनले भने । 

भाडा दर सिफारिस समितिको सुझावअनुसार सार्वजनिक बसमा पनि नयाँ नियम लागू गरिने भएको छ । तोकिएको ठाउँबाहेक अन्त रोक्न नपाइने र प्रविधियुक्त बस चलाउनुपर्नेसम्मका नियम प्रदेश सरकारले सार्वजनिक गरेको छ ।

संघ सरकारले गत ३० असारमा सार्वजनिक सवारीको भाडा २८ प्रतिशतसम्मले बढाएको थियो । प्रदेशभित्रका रूटमा चल्ने सवारीको भाडा दर समायोजन गर्न सक्ने अधिकार प्रदेश सरकारसँग छ । त्यसपछि प्रदेश सरकारले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा गत १३ असोजमा १० सदस्यीय प्रदेश भाडा सिफारिस समिति बनाएको थियो । त्यो समितिले १२ पुसमा बुझाएको प्रतिवेदनको आधारमा व्यवसायीसँग छलफल गरेर भाडा समायोजन गर्ने निर्णय भएको हो । यो निर्णय राजपत्रमा प्रकाशित गर्दै प्रदेशभित्र गुड्ने सवारीको भाडा प्रदेश सरकारले नै तोक्ने छ । व्यवसायीले सरकारका सर्तमा सहमति जनाएमामात्रै नयाँ भाडा दर लागू हुने सरकारका प्रवक्ता एवं यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताए ।


Author

थप समाचार
x