अर्थ / बाणिज्य

आयल निगम चरम आर्थिक संकटमा

मूल्य बढाउँदा पनि अझै १.८८ करोड घाटा

इकागज |
माघ ६, २०७८ बिहीबार १६:२२ बजे

काठमाडौँ- नेपाल आयल निगम चरम आर्थिक संकटमा परेको छ । केही समयदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार मूल्यवृद्धि भएको भन्दै निगमले हिजो माघ ५ गते मूल्य समायोजन गर्दा समेत अझै १ अर्ब ८८ करोड घाटा हुने तथ्यांक देखाएको छ ।

२०७६ चैतमा कोभिड-१९ नियन्त्रणका लागि सरकारले 'लकडाउन' गर्दा सवारी सञ्चालन तथा विकास निर्माणका काम ठप्प भएपछि निगमले पेट्रोल तथा डिजेलको मूल्य थोरै घटाएको थियो। कोभिड-१९ का कारण अधिकांश मुलुक प्रभावित बन्दा पेट्रोलियम पदार्थको मागमा आएको कमीका कारण अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । हाल ८८.८ अमेरिकी डलर प्रतिव्यारेल रहेको छ ।


निगमका पछिल्लो समायोजन

२०७६ चैतमा 'लकडाउन' हुनुअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँका दरले रहेको थियो। 'लकडाउन'पछि निगमले उक्त मूल्य घटाउँदै पेट्रोल प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८५ रुपैयाँका दरले कायम गरेको थियो।

२०७७ असारमा 'लकडाउन' खुकुलो भएर जनजीवन सामान्य हुन थालेपछि पेट्रोलियम पदार्थको खपत (माग) बढ्न थाल्यो । माग बढ्न थालेसँगै निगमले मूल्य पनि बढाउन सुरु गर्‍यो । २०७७ जेठसम्म पेट्रोलियम पदार्थको मूल्य स्थिर राखेको निगमले असारमा 'लकडाउन' खुकुलो भएसँगै बढाउन सुरु गरेको थियो । २०७७ असार १६ मा मूल्य बढाउँदै पेट्रोलको मूल्य १ सय १ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ पुर्‍याएको थियो।

त्यसपछि २०७७ असार २६ मै मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८८ पुर्‍यायो। त्यसको एक महिना नबित्दै साउन १७ मा फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउँदै निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम पुर्‍याएको थियो।

त्यसयता निगमले पटक-पटक मूल्य बढाउँदै पेट्रोलको मूल्य प्रतिलिटिर १ सय ३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय २२ रुपैयाँ पुर्‍याएको छ।पछिल्लो पटक निगमले मूल्य बढाएर पेट्रोलको मूल्य १ सय ३९ रुपैयाँ प्रतिलिटर तथा डिजेल तथा मट्टितेलको मूल्य १ सय २२ रुपैयाँ कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८८.८ डलर प्रतिब्यारेल रहेको छ यो मूल्य क्रमश उकालो लागेको देखिन्छ। हाल पुन: अन्तर्राष्ट्रिय क्षेत्रमा तथा भारतीय आयल कर्पोरेशनले तेलमा मूल्य वृद्धि भएको भन्दै गत जनवरी १६ मा नयाँ पत्र प्राप्त भएको भन्दै तेल खरिदको भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्था रहेको भन्दै विज्ञप्ती निकालेको थियो ।

६ महिनामा १९.५ अर्ब घाटा

आयल निगमालाई माघ २ गते प्राप्त भएको नयाँ मूल्यसूची तथा माघ ५ गते गरिएको मूल्यवृद्धिले आगामी १५ दिनमा १ अर्ब ८८ करोड घाटा हुने निगमले जनाएको छ । नयाँ पत्र प्राप्त भएपछि निगमले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था समेत सिर्जना भएको भन्दै पेट्रोल तथा डिजेल र मट्टितेलमा ३/३ रूपैयँ मूल्य वृद्धि गरेको थियो ।

पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड रूपैयाँ घाटामा गएको थियो। माघ ५ गते समायोजन पश्चातसमेत आउने १५ दिनमा १ अर्ब ८८ करोड घाटा हुने तथ्यांक देखाउछ ।

संञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने २ अर्ब रकम समेत अपुग भएको निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ । आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको समेत निगमले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा निगमले मूल्य समायोजन नगर्दा सो अवधिमा १९ अर्ब २६ करोड रूपैयाँ घाटा भएको जनाएको छ । नयाँ प्राप्त मूल्यमा पनि समायोजन गर्दा पनि घाटा २१ अर्बभन्दा माथि पुग्ने निगम बताउँछ ।

सञ्चालनमा समस्या

निगमले विज्ञप्ति नै जारी गरेर पेट्रोलियम पदार्थको मूल्यदिनानुदिन बढ्दै गएपछि आयल निगमलाई तेल कसरी खरिद गर्ने भन्ने समस्या परेको बताएको छ ।  यसको विकल्प भनेको निगमको मूल्य स्थिरीकरण कोषमा रहेको रकमलाई पहिलो विकल्पको रूपमा अघि सारेको छ । यसपछि ऋण लिन सरकार गुहार्ने योजनामा निगम देखिन्छ। निगमले  यसबाट समेत केही रकम खर्च गरिसकेको छ।

निगम प्रवक्ता विनित उपाध्याय आयल निगमसँगको विकल्पका रूपमा रहेको स्थिरीकरण कोषमा रहेको १३ अर्ब मध्ये ४ अर्ब खर्च गरिसकेको बताउँछन् । अबको विकल्प भनेको बाँकी रहेको स्थिरीकरण कोषको रकमबाट केही समयको लागि सञ्चालन गर्ने बताउँछन् ।

हाल निगमको मासिक तेल खरिद ४ अर्ब रहेको र अबको तीन माहिना मूल्य समायोजन गर्दा पनि अन्तर्राष्ट्रिय जगतमा तेलको मूल्य उकालो लागेको अवस्थामा निगमले धान्‍न नसक्ने उपाध्याय बताउँछन् । निगमको कर्मचारी आवासमा भएको रकम, तथा वोनसका लागि राखेको रकमलगायतको रकमसमेत प्रयोग भएको बताउँछन् ।

यसअघि समेत आयल निगमले तेलको मूल्य बढ्दा र समायनुकुल समायोजन नहुँदा निगमको विभिन्‍न स्थानमा रहेका जग्गा धितो राखेर ऋण लिने गरेको अबको अवस्था यहि रहेमा निगमले सोही प्रक्रिया अपनाउने उपाध्याय बताउँछन् । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आयल निगमबाट कुनै जानकारी तथा पत्र प्राप्त नभएको जनाएको छ ।

उता आयल निगमले विभिन्‍न बैंकमा राखेका स्थिरीकरण कोषको पैसा निकाल्दा तरलताको समस्या भने खासै असर नपार्ने बैंकरहरू बताउँछन् । हाल बैंकसँग पर्याप्त रकम रहेको यसले गर्दा ८/१० अर्ब निकाल्दा खासै समस्या नहुने नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेल बताउँछन् । 'यसले कुनै एक बैंकमा मात्र रकम छ भने त्यसलाई केही असर गर्ला अरूलाई भने त्यति असर गर्दैन्' उनले भने ।

विद्यार्थीहरू आन्दोलनमा

उता आयल निगमले तेलमा मूल्यवृद्धि गरेपछि विद्यार्थी संगठनले भने मूल्यवृद्धि खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा समग्र अर्थतन्त्रमै असर गर्ने भन्दै विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् ।

कोभिड महामारीबीच सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी नभए सरकारको आयुसमेत समाप्त पारिदिने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछाने चेतावनी दिए । 'कोरोना महामारीबीच सरकारले तेलको मूल्य बढाएको छ यसलाई खारेज नगरिए यसकै आन्दोलनबाट सरकार समेत ढल्नसक्छ' उनले इकागजसँग भने ।

त्यस्तै सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघसमेत आन्दोलनको तयारीमा लागेको छ । कम्युनिष्ट सरकारले जनताको ढाड सेक्दा सरकारमा आएको कांग्रेसले समेत कोभिड महामारीबीच मूल्यवृद्धि गर्दा जनता मारमा परेको संघ महामन्त्री उर्मिला थपलिया बताउँछिन् ।

'कोरोना महामारीबीच सरकारले मूल्यवृद्धि गर्दा कालोबजारी गर्नेलाई सहयोग पुग्ने र जनताको पक्षमा सरकार छैन् भन्ने सन्देश गएको छ' थपलियाले इकागजसँग भनिन् । आजै संयुत्त विद्यार्थी संगठनसँग छलफल गरेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x