अर्थ / बाणिज्य

क्यानडा उच्चायोगले नेपालमा महिला नेतृत्व विकास अभियान सञ्चालन गर्ने

इकागज |
माघ ६, २०७८ बिहिवार १८:२ बजे

काठमाडौँ– क्यानडा उच्च आयोगले अन्तर्राष्ट्रिय शिक्षा दिवस तथा राष्ट्रिय बालिका दिवसको पूर्वसन्ध्यामा डिजिटल इम्पावरमेन्ट फाउन्डेसनसँगको सहकार्यमा ‘वर्ल्ड वाइड वुमन– महिलाको डिजिटल नेतृत्व कौशल अभियान’ शुभारम्भ गरेको छ । 

यो अभियान भारतका पाँच राज्यका सीमान्तकृत र ग्रामीण समुदायका साथै नेपाल र भुटानमा सञ्चालन गरिन लागेको नयाँ दिल्लीस्थित क्यानडा उच्चायोगले जनाएको छ । डिजिटल उद्यमशीलता विकास, इन्टरनेट प्रयोग र डिजिटल बजारीकरणका लागि श्रृंखलावद्ध रूपमा तालिम कार्यक्रम सञ्चालन हुनेछन् । 


क्यानडाका सहउच्चायुक्त अमन्दा स्ट्रोहानले यस अभियानको शुभारम्भ गरेका हुन् । माइगभर्मेन्ट इन्डियाका सीइओ अभिषेक सिंहको प्रमुख आतिथ्यमा यस अभियानको शुभारम्भ गर्दै स्ट्रोहानले क्यानडा सरकार डिजिटल समानताको सुनिश्चितताका लागि तयार रहेको भन्दै महिला र बालबालिकालाई इन्टरनेट र डिजिटल उपकरणहरूको पहुँच साथै प्रयोगबारे सीप आवश्यक भएको बताए । निर्णय–प्रक्रियामा सहभागिताका लागि यो अत्यावश्यक भएको उनको भनाई थियो । 
क्यानडाको यो प्रतिवद्धता ‘फ्रिडम अनलाइन कोलिसन’ २०२२ मा प्रतिबिम्बित भएको छ ।  

कार्यक्रममा प्रमुख अतिथि सिंहले महिला सशक्तिकरणका लागि डिजिटल प्रविधिसम्बन्धी तालिम आवश्यक रहेको भन्दै डिजिटल रूपमा सशक्त समाज निर्माण आवश्यक रहेको बताए । 

डिजिटल इम्पावरमेन्ट फाउन्डेसन, भारतका संस्थापक निर्देशक ओसामा मन्जरले यो कार्यक्रम १५ हजार महिलासम्म पुग्ने, १५० जना डिजिटल उद्यमी जन्माउने र १५ जना महिला नेतृत्व (डिजिटल क्षेत्रमा) विकास गर्ने उल्लेख गरेका छन् । 
 


Author

थप समाचार
x