अर्थ / बाणिज्य

प्रमुख आयातमा उपभोग्य वस्तुको हिस्सा तीन चौथाई

इकागज |
माघ ९, २०७८ आइतबार १७:३४ बजे

काठमाडौँ– प्रमुख आयातीत वस्तुहरूको विश्लेषण गर्दा उपभोग्य वस्तुहरूको आयात झण्डै तीन चौथाई देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको तथ्यांक अनुसार प्रमुख दश आयातमा पेट्रोलियम पदार्थ, सवारीसाधन, फलाम तथा स्टील, कच्चा सोयाबिन तेल, पाम तेल, मोबाइल, धान/चामल, सुन, खोप र चाँदी रहेका छन् । 

कोभिड–१९ महामारी नियन्त्रण पहलका लागि खोप, अक्सिजन कन्सन्ट्रेटर, मास्क, मेडिकल उपकरणको आयातले पनि निरन्तर विदेशी मुद्रा बाहिर पुरर‍याइरहेको छ । 


धान/चामल, तरकारी, सुन तथा चाँदीको आयात उल्लेख्य बढेको छ । आयातीत प्रमुख १० वस्तुमध्ये पुँजी निर्माणमा फलाम र स्टीलका सामग्री, केही हिस्सा पेट्रोलियम र सवारीसाधनको पनि प्रयोग हुन्छ । यसबाहेक अहिले उल्लेख्य आयात बढीरहेको कच्चा सोयाबिन र पाम तेलले नेपालबाट निकासी समेत बढाउन मद्दत गरिरहेको छ ।

कुल एक खर्ब १८ अर्ब रुपैयाँको निकासी भएकोमा ६६ अर्ब २३ करोड रुपैयाँ अर्थात् ५६.१२ प्रतिशत हिस्सा सोयाबिन र पाम तेलको रहेको छ । 

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले खोपको आयात बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा २० अर्बको खोप आयात भएको छ । ९५ करोड ५६ लाखको फेस मास्क आयात भएको छ ।  नेपालमै मास्क बनाउनका लागि २ करोड १२ लाखको फेस मास्क मेसिन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । आयातको अवस्था हेर्दा देशमै मास्क बनाउनेभन्दापनि आयातमै बल देखिन्छ । 

मास्क आयातबाट सरकारले ५ करोड रुपैयाँ राजस्व उठाएको छ । नेपाली आयातकर्ताले बंगलादेश, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी र भारतबाट मास्क आयात गरेर ल्याएको देखिन्छ । 

चालु आर्थिक वर्षको ६ महिनामा ८३ करोड २१ लाखको अक्सिजन कन्सन्ट्रेटर आयात गरेको छ । 

बढ्दो उपभोग्य वस्तुको आयातले मुलुकमा उत्पादनलाई सहयोग नगर्ने र उपभोगमा विदेशी मुद्राको सञ्चिति क्षय हुने हुन्छ । पुँजीगत वस्तुको आयातले भने देशमा उत्पादन, रोजगारी र पुँजी निर्माणको आधार तयार गर्छ । 


Author

थप समाचार
x