अर्थ / बाणिज्य

खेत मासेर रिसोर्ट !

इकागज |
माघ १२, २०७८ १०:५२ बजे

फाइल फोटो

तनहुँ - खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् । 

सिङ्गापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब  साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागेका हुन् । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताए । 


उनले भने, `राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौँ भनेर रिसोर्ट निर्माण गरेको हुँ ।` रिसोर्टसम्बन्धी आफूलाई कुनै पनि जानकारी नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ पुल, कटेजलगायतका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए । 

स्वदेशमा रहेर केही गरौँ र केही व्यक्तिलाई रोजगारी दिऔँ भन्ने भावना पलाएपछि आफू यसतर्फ अग्रसर भएको गुरुङ बताउछन् । उक्त रिसोर्ट निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न गर्न सकिएको छैन । उनले भने, `अघिल्लो वर्षको कोरोनाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होलाजस्तो देखिएको छ ।`

पटक–पटकको कोभिडका कारण निरन्तर निर्माणकार्य गर्न नसक्दा निर्माण प्रभावित भई आर्थिक भार वृद्धि हुँदा कठिनाइ भोग्नुपरेको उनले दुःखेसो पोखे । रासस



Author

थप समाचार
ad
x