अर्थ / बाणिज्य

भारतीय टेलिकम एयरटेलमा गुगलको १ खर्बभन्दा बढीको लगानी

इकागज |
माघ १५, २०७८ शनिबार १४:११ बजे

काठमाडौँ - सर्च इन्जिन गुगल अन्तर्गत रहेको अल्फाबेट इंकले भारतीय टेलिकम एयरटेलमा लगानी गर्ने भएको छ । अल्फाबेट इंकले ‘इन्डियन डिजिटाइजेसन फण्ड’ को रुपमा एयरटेलमा एक अर्ब डलर अर्थात १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको हो ।

इंकले ७० करोड डलर सेयर र ३० करोड डलर विभिन्न व्यवसायीक सम्झौता अन्तर्गत हुने जनाइएको छ । गुगलले कम्पनीको कुल १.२८ प्रतिशत सेयर प्राप्त गर्ने जनाइएको छ । त्यस्तै ३० करोड डलर भारतको डिजिटाइजेसनका लागि सहुलियतमा सेवा उपलब्ध गराउन खर्च हुने जनाइएको छ । यसअघि गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२० मा १० अर्ब अमेरिकी डलरको ‘इन्डियन डिजिटाइजेसन फण्ड’ सिर्जना गरेका थिए । जसको उद्देश्य भारतको डिजिटल विकासमा मद्दत पुर्‍याउनु रहेको थियो ।


उक्त फण्ड सिर्जना भएको केही दिन पश्चात नै गुगलले भारतकै अर्को ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी जिओमा समेत लगानी गरेको थियो । जसमा गुगलले ४.५ अर्ब डलरमा ७।७३ प्रतिशत शेयर खरिद गरेको थियो ।


Author

थप समाचार
x