अर्थ / बाणिज्य

एनसेल बाह्रखरी गल्फ धरानमा हुने

इकागज |
माघ १७, २०७८ सोमबार १२:११ बजे

काठमाडौँ - हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशको फरक-फरक स्थानमा कर्पोरेट गल्फ कार्यक्रम गर्दै आएको बाह्रखरी मिडियाले यो वर्षको एनसेल बाह्रखरी गल्फ प्रतियोगिता धरान, सुनसरीमा आयोजना गर्ने भएको छ ।

प्रदेश एकको ऐतिहासिक सहर धरानमा रहेको गल्फ कोर्समा कर्पोरेट गल्फ प्रतियोगिता, देशभरका निजी क्षेत्रका प्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट २०२२ र इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ २०२२ आयोजना गर्न लागेको जानकारी दिएको छ ।


गल्फ प्रतियोगिता फागुनको १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा हुने छ । यस प्रतियोगितामा धरान, काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।

इकोनोमिक समीटअघि यस प्रदेशका महत्वपूर्ण क्षेत्र सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम र झापामा त्यस क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधारका विषयहरुमा राउन्ड टेबलको आयोजना गरिने छ । 

त्यहाँ उठेका विषयहरुलाई समेटेर इकोनोकिम समीट (फागुन १४) मा पूर्व अर्थसचिव रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्थमन्त्री जनार्दन शर्मा, श्रम मन्त्री किसान श्रेष्ठसहित विभिन्न मन्त्रालयका सचिवज्यूहरुको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

त्यस्तै योङ अन्टरप्रेनअर्स मिट २०२२ (फागुन १३) मा युवा उद्यमीका समस्या, यस क्षेत्रमा उदाउँदै गरेका युवाहरुको योजना लगायतका विषयमा छलफल हुने आयोजकले जानकारी दिएका छन्। यसको सहजीकरण युवा उद्यमी तथा योङ अन्टरप्रेनअर्स एशोसियसनका पूर्वअध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले गर्नैछन् ।

एनसेल बाह्रखरी गल्फमा प्रदेश एक सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, गोर्खा ब्रुअरी, ग्लेन लिभेट सिङ्गल मल्ट, भाटभटेनी सुपरमार्केट, हुन्ड्याइ मोटर्स, शिखर इन्स्योरेन्स र डिशहोम फाइबरनेटको सहयोग रहने आयोजकले जानकारी दिएका छन् ।


Author

थप समाचार
x