नेपाल चेम्बर अफ कमर्सको मागः नेपालदेखि पाकिस्तान सिधा उडान
काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले नेपाल-पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर साह समक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरणका लागि काठमाडौँ कराँचीबीच सिधा हवाई उडान सुचारु गर्न चेम्बरले जोड दिएको हो ।
नेपालका लागि पाकिस्तानी राजदुत साहसँग चेम्बर भवन जमलमा सोमबार भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक गतिविधी विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउन उनले आग्रह गरे । राजदूत साहसँग हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रले सहकार्य गर्नुपर्ने उनले बताए ।
अध्यक्ष मल्लले भने,‘नेपाल र पाकिस्तानबीच हवाई दुरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार र पर्यटन विस्तार गर्न सकिन्छ। सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि वढाएर दुवै मुलुकले लाभ प्राप्तगर्न सक्छन्।’
नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरू तयार रहेको मल्लले प्रस्ट पारे। उनले निजी क्षेत्रबीचकोसहकार्य मार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको बताए।
पाकिस्ताबाट नेपालले अहिले छोकडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको भने मह, कफि, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागो लगायतका बस्तु निर्यात गर्ने गरेको छ।
नेपालले पाकिस्तानबाट वार्षिक १ अर्व १४ करोड १९ लाख रुपैयाँ बराबरको बस्तु आयत गर्ने गरेको छ भने निर्यात १० करोड ४ लाख रुपैयाँ बराबर गर्ने गरेको छ।
काठमाडौँ कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकेमा उनले व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने बताए। पर्यटन गतिविधी वढाउन पनि सहज हुने विश्वास छ।
पाकिस्तानी राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाट पहल हुनुपर्ने बताए। नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाईदा हुनेगरि आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्न उनले आग्रह गरे। यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने उनको भनाई छ। दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविध बिस्तार गर्न पहल गर्न उनले बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया