एमसीसीबारे नेताहरुले फैलाएका भ्रम
जग्गा एमसीसीको होइन, लालपूर्जै एमसीए-नेपालको
काठमाडौं - सत्ता गठबन्धन र मुख्य विपक्षीका केही नेताहरुले एमसीसीले निर्माण गर्ने प्रसारण लाइनका टावर र निर्माण हुने सवस्टेशनको जग्गाको जग्गाधनी एमसीसीकै हुन्छ भन्दै आएका छन् । तर त्यस्ता जग्गाको लालपूर्जा मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) विकास समितिकै नाममा रहेको पाइएको छ ।
पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र एमालेका भीम रावलहरुले विभिन्न सार्वजनिक रुपमै प्रसारण लाइन तथा सवस्टेशन रहने जग्गाको स्वामित्व एमसीसीकै हुने र नेपालको नहुने भाषण गर्दै आएका छन् ।
उक्त विकास समितिले नुवाकोटको रातमाटेमा सवस्टेशन बनाउन अधिग्रहण गरेको जग्गाको लालपूर्जा एमसीए नेपालको नाममा मालपोत कार्यालय, नुवाकोटले बनाइदिएको छ । मालपोत कार्यालयले विकास समितिको नाममा रातमाटेस्थित तीन रोपनी १३ आना २ पैसा २ दाम (१९५९.३७ वर्गमिटर)२०७७ साल पुस २२ गते दर्ता गरेको हो । एमसीए नेपालले अधिग्रहण गरेका सबै जग्गाको लालपूर्जा उसकै नाममा छ ।
अमेरिकाले सन् २००४ मा स्थापना गरेको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) र नेपालमा गठन भएको एमसीए नेपाल दुई भिन्न संस्था हुन् । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को संयुक्त लगानीमा सञ्चालन गर्न लागिको पूर्वाधार आयोजनाको व्यवस्थापनका लागि विकास समिति ऐन २०१३ अनुसार अर्थ मन्त्रालय अतर्गत गठन गरिएको सरकारी निकाय हो ।
एमसीए–नेपालको सञ्चालक समितिको अध्यक्षमा अर्थ सचिव (हाल मधुकुमार मरासिनी), सहसचिव ऊर्जा मन्त्रालय (हाल मधुप्रसाद भेटवाल), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव (हाल केशवकुमार शर्मा), विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (हाल कुलमान घिसिङ), निजी क्षेत्र प्रतिनिधि (कुमार पाण्डे) र नागरिक समाज प्रतिनिधि (हाल गोपाल खनाल) छन् ।
उता एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पाेरेशन) को सञ्चालन समितिमा अध्यक्षमा विदेश मन्त्री, (हाल एन्टोनी जे ब्लिनकेन), उपाध्यक्षमा अर्थ मन्त्री (हाल जेनेट एलेन), यूएसएआइडीको प्रशासक निजी क्षेत्रका प्रतिनिधि र प्रमुख कार्यकारी अधिकृत लगायत छन् ।
एमसीसीको स्वामित्वमा नेपालको जग्गा हुनु भनेको अमेरिकी सरकारको स्वामित्व हुनु हो । एमसीए नेपालको स्वामित्वमा हुनु भनेको नेपाल सरकारको हो । जनमानसमा तीव्र उत्तेजना फैलाउन प्रधानमन्त्री, रक्षा मन्त्री भइसकेका व्यक्तिहरुले अतिरञ्जनापूर्ण भाषणवाजी गर्दै आएका छन् ।
भीम रावलले माघ १७ गते प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा लेखेको खुला स्मृति पत्रको बुँदा नं. ४.५ मा प्रसारण लाइनले चर्चेको जग्गामा एमसीसीको असीमित समयसम्मका लागि आधिपत्य रहने कुरा उल्लेख गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया