अर्थ / बाणिज्य

वायुसेवा निगममा बेथिति नै बेथिति

नेपाली पाइलट सक्षम हुँदाहुँदै विदेशीकै हालीमुहाली

विकास थापा |
माघ १, २०७७ बिहीबार १८:१३ बजे

काठमाडौं : नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी (३३०) जहाज ल्याएको तीन वर्ष हुन लाग्यो । यो अवधिमा एकजना पनि नेपाली प्रशिक्षक पाइलट बनाउन निगमले चाहेको छैन । विदेशी प्रशिक्षक पाइलट र क्याप्टेन राखिरहँदा मिलेमतोमा डलरमा कमीसन आउने भएकाले कार्यरत नेपालीलाई प्रशिक्षक पाइलटमा बढुवा गर्न व्यवस्थापनले नचाहेको आरोप लाग्ने गरेको छ ।

एउटा वाइड बडीलाई पूर्ण रुपमा सञ्चालन गर्दा आठ क्याप्टेन र आठ कोपाइलट आवश्यक पर्छ । दुईवटै वाइडबडीका लागि १६ कयाप्टेन र १६ को पाइलट चाहिन्छ । दुई वर्षयता निगमले क्याप्टेनका लागि एकजना पनि पठाएको छैन । वाइड बडीमा विदेशी पाइलट भएका कारण न्यारो बडी (३२०) का क्याप्टेनले १० दिन तालिम गरेपछि वाइडबडीको क्याप्टेन हुन पाउँछ ।


निगमले न्यारो बडीका केही पाइलटलाई वाइड बडीका लागि परिचय उडान (फेमेलिराइजेशन) दुई वर्षदेखि गराउँदै आएको छ । यसरी एक पाइलटले एकपटक परिचय उडान गर्दा दिनको खाजा मात्र २०८ अमेरिकी डलर र उडान भत्ता प्रतिघण्टा ४४०० रुपैयाँ पाउँछ । एक उडानमा लभगभ दस घण्टा हुन्छ । यो भत्ता पनि निगमले केही पाइलटका लागि दुई वर्षदेखि खुवाउँदै आइरहेको छ ।

निगमले न्यारो बडीका क्याप्टेनहरु यम चुहारचन्द, योगेश हिराचन र विशाल देवानले परिचय उडान गरिसकेका छन् । यसमध्ये चुहारचन्दले भने दुई वर्षदेखि परिचय उडान गर्दै आए पनि उनलाई वाइडबडीमा पठाएको छैन । 

निगम स्रोतका अनुसार पर्यटन मन्त्री र व्यवस्थापन निकटका पाइलटलाई २० पटकसम्म यस्तो परिचय उडानमा सहभागी गराइसकेको छ । निगमले परिचय उडानपछि वाइड बडीका लागि चाहिने १० दिने तालिममा भने पठाएको छैन । 

कोभिड-१९ सुरु हुनअघि विदेशी पाइलटलाई निगमले मासिक १३ हजार अमेरिकी डलर तलब र एक हजार डलर घरभाडा तिरेर वाइडबडीमा चार र न्यारोमा एकजना विदेशी पाइलट राखेको थियो । यी विदेशी पाइलट एजेन्टले बन्दोबस्त गरिदिन्थ्यो र यसबापत कमीसन लिन्थ्यो । उक्त कमीसन निगम उच्च व्यवस्थापनका पदाधिकारीहरुलाई भागबण्डा हुने गरेको स्रोतको दाबी छ । ‘नेपाली पाइलटलाई जानाजान वाइड बडीमा लगिएको छैन, यसले धेरै शंका उब्जाउँछ’ स्रोतले भन्यो, ‘किन नलगेको भन्ने प्रश्न गर्ने ठाउँ छ ।’

कोभिड-१९ पछि विदेशी पाइलटको भाउ निकै घटेर आयो । विश्वभर नै उडान प्रभावित भएका कारण उनीहरु पनि बेरोजगार भए र चार हजार डलरमा काम गर्न राजी भए । अहिले निगमसँग वाइडबडीका लागि तीनजना र न्यारो वडीका लागि एकजना गरी चार विदेशी पाइलट छन् ।

वाइड बडीमा मासिक चार हजार डलर तलब र एक हजार डलर घारभाडा दिएर राखिएका विदेशी (भारतीय) पाइलटहरुमा पीपी सिंह (प्रशिक्षक पाइलट), सुधीर गौर र सुधीर तोमार छन् । केही दिनअघि बेलायती नागरिक भएका भारतीय मूलका ६५ वर्षीय जावेद चौधरी निवृत्त भएपछि वाइड बडीका लागि तीनजना मात्र विदेशी पाइलट छन् ।

दुईवटा वाइड बडीमा चारजना नेपाली क्याप्टेनहरुमा विजय लामा, महेश्वरमान डंगोल, श्रवण रिजाल र समजकुमार श्रेष्ठ मात्र छन् । 

निगममा विवादास्पद नागराज

न्यारोवडीका लागि भारतीय पाइलट नागराज छन् । यिनले मासिक ५ हजार अमेरिकी डलर तलब खान्छन् र निगमले यिनलाई एक हजार अमेरिकी डलर घरभाडा बापत दिने गरेको छ । नेपाली क्याप्टेन र पाइलटहरुको मासिक तलब भने बढीमा अढाई लाख रुपैयाँ मात्र छ ।  

न्यारो बडीमा प्रशिक्षक पाइलटमा रहेका नागराजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले केही महिनाअघि कारबाही गरेको थियो । उडिरहेको जहाजको ककपिटमा सुतेको (निदाएको) पाइएपछि प्राधिकरणले पाँच हजार रुपैयाँ आर्थिक दण्ड दिएको थियो ।

निगमको वाइडबडीमा आउनुअघि नागराज हिमालयन एयरलाइन्समा पनि काम गर्थे । हिमालयन एयरलाइसेन्सले नागराजलाई कारबाही गरेर कामबाट निकालेको थियो । नागराजले मुद्दा पनि हालेका थिए । 

भारतीय पाइलटको मोह

निगमले सुरुमा गैरभारतीय विदेशी क्याप्टेन र प्रशिक्षक पाइलटलाई करारमा राख्‍ने गर्थ्‍यो । स्रोतका अनुसार पछि भारतीय पाइलट राख्‍न थाल्नुको कारणमा ‘डिल’ गर्न सजिलो हुने भएकाले हो । ‘विदेशी पाइलटले कमीसन दिंदैनथे,’स्रोतले भन्यो, ‘भारतीय पाइलटसँग कुरा गर्न र भाउ मिलाउन सजिलो हुन्छ ।’

ओली निकट पाइलट

‘प्रधानमन्त्री केपी ओलीलाई झापाका मान्छे देख्‍नै हुन्‍न’ भन्‍ने गरिन्छ निगममा । झापा घर भई गिरी थर भएका व्यक्तिसँग बिहे गरेकी भावना पन्त गिरीलाई निगमले एकैचोटि पाँच वर्षका लागि क्याप्टेनमा करार नियुक्ति दियो । लगत्तै उनलाई क्याप्टेनको तालिममा पठायो । निगममै वर्षौंदेखि  कार्यरत को-इपाइलट तथा क्याप्टेनहरुले तालिममा नपठाएर अभाव पूर्ति नगरेको निगमले पन्तलार्ई भने दुई वर्षअघि क्याप्टेन बनाएर न्यारो बडी उडाउने जिम्मा दिएको छ ।

पन्त यसअघि सौर्य एयरलाइन्समा सीआरजेड जहाज उडाउँथिन् । सौर्य आउनुअघि बुद्ध एअरको एटीआर उडाएकी पन्त नौ वर्षसम्म जहाज नउडाईकन बसेकी थिइन् ।

एउटा, एउटा भए पुग्ने

स्रोतका अनुसार वाइड बडी र न्यारो बडी दुवैमा एक, एकजना प्रशिक्षक पाइलट भए पुग्छ । न्यारो बडीमा नेपाली प्रशिक्षक पाइलट सुवास रिजाल हुँदाहुँदै विवादास्पद भारतीय पाइलट नागराज राखिएकाले ‘लुटको धन फुपुको श्राद्ध’ भएको निगमका कर्मचारीहरु बताउँछन् । न्यारो बडीमा १८ पाइलट र १२ जना को-पाइलट छन् । न्यारोबडीका क्याप्टेनलाई वाइड बडीको तालिममा पठाउनुपर्नेमा निगम व्यवस्थापनले मानिरहेको छैन । 

निगमले कोरोना अघि नै परिचय उडान गराइसकेको छ र अहिले पनि गराउँदै छ— बहराइनमा । पहिला सिंगापुरमा थियो । निगमका पाइलटहरुले आफ्नो लाइसेन्स नवीकरण गर्ननिम्ति ६, ६ महिनामा लिनुपर्ने सिमुलेटर तालिम लिंदै आएका छन् । यही तालिमका क्रममा उनीहरुले सजिलैसँग वाइड बडीको क्याप्टेनको तालिम गर्न सकिने कर्मचारीहरु बताउँछन् ।

यसो भन्छन् प्रबन्ध निर्देशक पौडेल

तालिमका लागि निवेदन दिएका ६ जना पाइलट (क्याप्टेनसहित) हप्ता, दस दिनभित्र उड्ने निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले बताए । उनका अनुसार लामो समयदेखि हुन नसकेको नेपाली क्याप्टेनको तालिमसम्बन्धी निर्णय हालसालै भएको हो । बहरानमा हुने उक्त तालिम १० देखि १४ दिनको हुनेछ । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x