अर्थ / बाणिज्य

नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा

इकागज |
फागुन १५, २०७८ आइतबार १८:५४ बजे

काठमाडौँ - नेपाल क्लियरिङ्ग हाउस लिमिटेड ( एनसीएचएल)ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच (एनपीएस) को पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनपीडीसी) बीच औपचारिक सम्झौता भएको छ।

सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।


सम्झौता पश्चात् एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्वूआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्वूआर तथा इन्टरनेटवर्क क्वूआर, डाइरेक्ट डेविट रिक्वेष्ट टु पे तथा इ-म्यान्डेटका उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने जनाइएको छ ।

साथै विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत् अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन रियल टाइम तथा ओपन पीएसओ का मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ ।एनडीपसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । 

देशका कुना काप्चासम्म पनि मोबाईलको माध्यमबाट वित्तीय पहुँच विस्तार गरी डिजिटल सोसाइटी बनाउने राष्ट्रिय अभियानलाई आत्मसाथ गर्दै एनडीपीसीले आफ्नो नमस्त पे वालेटमा क्रेडिट कार्ड बिल भुक्तानी, डिटिएचको भुक्तानी, मोबाइल रिचार्ज, लगायत विभिन्न भुक्तानीहरु गर्न सकिने सेवा क्रमश थप गर्दै लग्ने जनाएको छ ।

एनडीपीसी मार्फत नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको विभिन्न सेवा तथा उपकरणको विस्तारले यसका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंक वित्तीय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ वटा संस्था आबद्ध भइसकेको जनाएको छ ।


Author

थप समाचार
x