अर्थ / बाणिज्य

६० लाख नेपालीलाई गरिखाने बनाउने नेपाली अर्बपतिको सपना

पुष्पराज आचार्य  |
माघ ७, २०७७ बुधबार ७:५३ बजे

काठमाडौं : ‘यसलाई सोच, सपना वा कल्पना जे भन्‍नुहुन्‍छ...’ छलफलको प्रसङ्ग शुरु गर्दै उनले भने, ‘आज पनि बहुसंख्यक नेपालीहरू प्राथमिक आवश्यकताको जोहो गर्न ठूलो संघर्ष गरिरहेका छन् । धेरै मानिसहरू रोजगार बन्‍न चाहान्‍छन् । तर, बिडम्बना देशमा रोजगारीको अवसर सीमित छ । वैदेशिक रोजगारीको अवसर सधैं त रहीरहँदैन । फेरि विदेशमा बगाएको श्रम र मेहनतले हाम्रो मुलुक त बन्दैन ।’

विश्वप्रख्यात फोर्ब्स म्यागेजिनले एकमात्र नेपाली डलर अर्बपतिको रूपमा पहिचान गरेका र बाह्य सञ्चारमाध्यमहरूले सम्भवतः सबैभन्दा धेरै पछ्याएका व्यक्ति हुन्, विनोद चौधरी । आफ्‍नो व्यावसायिक जीवनको साढे तीन दशकमा उनले व्यवसायको साम्राज्य फैलाए । न्यूयोर्कदेखि लिजियाङ, सर्वियादेखि माल्दोभा, युएईदेखि भारत, बंगलादेश, मालदिभ्स, श्रीलंका लगायत कयौं देशमा उनको व्यावसायिक साम्राज्य विस्तार भएको छ ।


व्यवसाय विस्तारमा ‘स्काई इज द लिमिट’  भएको छ उनका लागि । व्यवसायमा उनले ठूलो संघर्ष र मेहनत गरे । अब व्यवसायको बागडोर छोराहरूलाई सुम्पेर आफ्‍नो जीवनलाई समीक्षा गर्ने अनि समाज सेवा र राजनीतिमा लाग्ने । ‘व्यवसायमा उनीहरूलाई सामान्य मार्गनिर्देश गर्नेबाहेक अब मेरो धेरै ठूलो भूमिका छैन,’ उनी भन्‍छन् । व्यवसायको नेतृत्वमा छोराहरूलाई स्थापित गर्ने क्रममा उनले लामो समय उनीहरूको ह्याण्डहोल्डिङ गरे, अब उनीहरू नै सबै व्यावसायिक बागडोर सम्हाल्न थालिसके ।

यद्यपि मैंले उद्यमशीलता विकासका व्यवहारिकता सम्बन्धमा प्रश्न गरें । उनी आफू बसिरहेको कुर्सीबाट उठेर प्रवचनको शैलीमा बोल्न थाले । कुनै विषयमा विश्वस्त हुने गरी व्याख्या गर्न सक्नु उनको कुशाग्रता हो ।

संसारभर व्यवसायिक साम्राज्य फैलाएका यी उद्यमी व्यावसायिक, सामाजिक र राजनीतिक जीवनलाई सन्तुलित ढङ्गले अघि बढाएका छन् । उनी आफूलाई अत्यन्त व्यस्त राख्छन् । व्यवसायमा लगाएको समयलाई राजनीति र समाजसेवामा लगाउने तयारीमा रहेका उनलाई मैले केही स्वभाविक व्यवहारिक प्रश्नहरू तेर्स्याएँ । उद्यमशीलता विकास कहाँ सजिलो छ र भन्‍ने देशको व्यावसायिक क्षेत्रलाई नेतृत्व गरेको, उद्यम, व्यवसायमा सफल हुन कति पापड बेल्नुपर्छ भन्‍नेमा उनी सबैभन्दा जानकार छन् ।

०००
यद्यपि मैंले उद्यमशीलता विकासका व्यवहारिकता सम्बन्धमा प्रश्न गरें । उनी आफू बसिरहेको कुर्सीबाट उठेर प्रवचनको शैलीमा बोल्न थाले । कुनै विषयमा विश्वस्त हुने गरी व्याख्या गर्न सक्‍नु उनको कुशाग्रता हो । उठेर बोल्दा श्रोता, दर्शकको एकाग्रता र बोल्दा विषयवस्तुको सम्पूर्णता समेटिनेमात्र हुँदा विषयवस्तुको गम्भीरता अनुसार उठेर बोल्ने उनको बानीसँग पनि साक्षात्कार भयो ।

‘लामो कालखण्ड मैंले व्यावसायिक जीवन बिताएँ । मैंले मेहनत र संघर्ष गरें , त्यसले मलाई प्रतिफल पनि दिदैँ गयो । एउटा समयमा आएपछि मलाई यस्तो लाग्यो कि अब मैंले समाज र राष्ट्रको लागि केही गरौं ।’ त्यसो त उनले गरिरहेको व्यवसाय, निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाहरूको नेतृत्व लिएर समाज र राष्ट्रको लागि योगदान भएन र ? प्रश्न भुइँमा झर्न नपाउँदै उनले भने, ‘त्यसका सीमितताहरू छन् । त्यहाँबाट जति गर्न सकिन्थ्यो मैंले इमान्दारीपूर्वक गरें ।’

त्यसो त उनले चौधरी फाउण्डेसनमार्फत् समाजसेवाको कामलाई अझै गति दिएका छन् । यही क्रममा शुरु भएको थियो- नेपाल सोसल विजनेस । बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको ग्रामीण गरिबी निवारण र उद्यमशीलता विकासको मोडल संसारभर चर्चित छ । सामाजिक प्रभावका हिसाबले महत्वपूर्ण यस्ता व्यवसायको लहर संसारभर छ । नाफामूखी भन्दा पनि गरिबी निवारण, पोषण सुरक्षा, वातावरण संरक्षण मैत्री व्यवसायहरू सामाजिक व्यवसायका नाममा सञ्चालित छन् । सन् २०१२ को अन्त्यतिर चौधरी फाउण्डेसन अन्तर्गतको नेपाल सोसल विजनेस र युनुस सेन्टरबीच सहकार्यको समझदारी पनि बन्यो । दूरदराजका ठाउँहरूमा केही परियोजनाहरू पनि पुगे ।

‘उद्यमी बन्‍न सपना देख्‍नुपर्छ । केही गर्छु भन्‍ने लगाव र पेटमा आगो हुनुपर्छ ।,’ उनले थपे, ‘यदि तपाईंसङ्ग कुनै सपना छ र त्यो सपना कसरी पुरा प्रतिवद्धता छ भने परिवेश र अवस्था जस्तोसुकै जटिल छ भने पनि ऊ सफल हुन्‍छ ।’

दुर्गम किन दुर्गम भयो ? किन विकास भएन । दुर्गमता एउटा कारण होला । यसका पछाडिको सामाजिक मनोविज्ञान, चेतना र सोच अझै बढी जिम्मेवार छ । फाउण्डेसनको अगुवाइमा जुम्लामा कार्यक्रम शुरु भयो । परियोजना लिएर जाँदा स्वागतमा स्थानीयहरूले आधा-एक किलोमिटर मानिसहरूको लाइनमा फूल र बाजागाजाले स्वागत गरे । स्थानीयहरू उत्साहीत छन् भन्‍ने सोचले पनि हुँदैन । कतिपय गैरसरकारी संस्थाहरूले उद्यमशीलता विकासका कार्यक्रम पुर्‍याएका छन् । तर परियोजना चलुन्जेल काम गरेजस्तो गर्छन् । परियोजनासँगै उनीहरूका उद्यम पनि बन्द हुन्‍छन् । काम गर्नेभन्दा पनि सहजै पैसा कहाँ पाइन्‍छ भन्‍ने सोच त्यी भेगहरूमा समेत पुगिसकेको उनले सुनाए । 

यति हुँदाहुँदै पनि अझै धेरै नेपालीहरू इमान्दारीपूर्वक व्यवसाय गर्न चाहान्छन् । उनले एउटा उदाहरण सुनाए, सन् २०१६ को सेप्टेम्बर महिनामा चौधरी फोर्ब्सका सीईओ माइक पर्लीससँग शे फोक्सुण्डो ट्रेकिङ गएका थिए । डोल्पाको जुफाल विमानस्थलमा ओर्लेपछि ट्रेक सुरु भयो । भौगोलिक जटिलता त छँदै थियो । त्यहाँ खाजानास्ता गर्ने, सुस्ताउने सामान्य प्रकृतिका होटल लजहरूको अभाव । स्थानीयहरूले कतै कतै चिया नास्ता खान मिल्ने खाजाघरहरूसम्म थिए, तिनीहरूले गुणस्तरमा भने ध्यान दिएका थिएनन् ।  डोल्पो क्षेत्रमा उनले तिनै स्थानीयहरूलाई लजहरू विकास गर्न नेपाल सोसल विजनेसमार्फत् छलफल अघि बढाए । स्थानीयहरू तयार पनि भए । त्यसपछि जुफालदेखि शे–फोक्सुण्डोसम्मको मार्गमा पर्यटकीय सुविधाहरू तयार भए । शे–फोक्सुण्डोको पदयात्रा मार्ग दुनैदेखि, जुफाल, कागनी, रिची, सैजोल, रिग्मो भएर यात्रा गर्ने जो कोहीले गुणस्तरीय पर्यटकीय सुविधाहरू उपभोग गर्न सक्छन् । 

०००
‘उद्यमी बन्‍न सपना देख्‍नु पर्छ । केही गर्छु भन्‍ने लगाव र पेटमा आगो हुनुपर्छ ।,’ उनले थपे, ‘यदि तपाईंसँग कुनै सपना छ र त्यो सपना कसरी पुरा प्रतिवद्धता छ भने परिवेश र अवस्था जस्तोसुकै जटिल छ भने पनि ऊ सफल हुन्‍छ ।’

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबाट वा आफ्‍नै व्यावसायिक जगबाट ठूलो अभियान सञ्चालन गर्छु भन्दा त्यसमा सीमितताहरू हुने उनी बताउँछन् । ‘यो राजनीतिबाट मात्र सम्भव छ ।’ उनले विश्वस्त भएर भने । हिउँदको चिसो दिनमा कुराकानीका विषयवस्तुले उष्णता थप्दै गए । मैंले उनको सोचमा केही प्रष्ट हुन चाहें । त्यसको व्यवहारिकता, हाम्रो धरातलीय यथार्थ र सामाजिक मनोविज्ञानका बारेमा आफ्ना धारणाहरू उनीसमक्ष राख्दै गएँ । स्वभाविक जिज्ञासा थियो । राजनीतिबाट कसरी ? 

‘राजनीति जनपरिचालनको माध्यम हो । यसमा मानिसको आस्था जोडिएको हुन्‍छ । त्यसैले यो परिवर्तनको संवाहक हो । राजनीतिको फोरमबाट मुलुकमा ठूला-ठूला राजनीतिक परिवर्तनहरू भएका छन् । कतिपय दुसाध्य लाग्‍ने कामहरू सफल भएका छन् । त्यो जनपरिचालनको स्ट्रेन्‍थ (शक्ति)लाई हामीले रचनात्मक काममा लगाउन सक्यौं भने नेपालीहरूको आर्थिक सशक्तिकरणका लागि धेरै लामो समय छैन ।’

०००
‘राजनीतिक दलले ‘डेलिभर’ गर्ने भन्दा पनि सत्तामा पुगेको बेला आफ्ना नीति, कार्यक्रम, सोच लागू गर्ने हो । अहिले त पुराना र स्थापित भनिएका दलहरूप्रति जनताको भरोसा टुटीसक्यो । राजनीतिक दल आफैंले जनपरिचालन गरेर यति ठूलो काम हुनसक्ला भनेर पत्याइहाल्न पनि कठिन छ ।’ मैंले आफ्‍नो धारणा राख्दैं गएँ, ‘आज युवाहरू स्थापित दलहरू भन्दा पनि नवप्रवेशी दलहरू, अनि पुरानै राजनीतिक व्यवस्था, राजसंस्थातिर लगाव राख्दैछ भने कहाँ रह्यो त परिवर्तनकामी दलहरूप्रति आकर्षण ?’ यो प्रश्नमा उनी अलिकति गम्भीर भए । त्यसपछि भने, ‘दलहरूले नयाँ विचार, आजको समाजलाई के चाहिएको छ । युवा के चाहन्‍छ ? उनीहरूको सोचलाई प्रतिनिधित्व गर्नुपर्छ ।’ 

‘आजको युवा मुलुकमै केही काम गर्न चाहान्‍छन् । विदेशका राम्रा विश्वविद्यालयमा पढेर आएका, विदेशमा काम गरेर अलिकति रकम जम्मा गरेर मुलुकमै केही व्यवसाय गरौं भन्‍ने चाहाना राखेर फर्केकाहरू छन् । उनीहरूलाई हामीले त्यो माहौल नै बनाएनौं । सधैं राजनीतिका फोस्रा कुरा, लडाइँ, झगडा, बन्द हड्ताल, अस्थिरता यस्तै-यस्तै देख्दै र भौग्दै आयौं,’ उनले भने, ‘स्वभाविक राजनीति विचार, सिद्धान्त र आदर्शबाट प्रेरित हुन्‍छ । समाजको चाहानालाई प्रतिनिधित्व गरेर मात्रै त राजनीतिक दल जीवन्त रहने हो । राजनीतिले सम्बोधन गर्नुपर्ने एउटा प्रमुख मुद्दा आम मानिसहरूको आर्थिक सशक्तीकरण हो ।’

सरकारसँग स्रोतसाधन सीमित हुन्‍छ । न त राजनीतिक दल नै स्रोत साधन सम्पन्‍न छन् । त्यसैले एउटा जबर्दस्त माहौल सिर्जना गर्ने, त्यो हो - ‘गरिखाने अभियान ।’ जसले नव उद्यमी र उद्यमीहरूलाई उद्यम सुरु गर्न वा स्तरोन्‍नति गर्न सीप, पूँजीको पहुँच, प्रविधि, भण्डारण, प्रशोधन र बजारको उपलब्धता गराउनेछ ।

‘राजनीतिक जनपरिचाललन पनि अब उद्यमशीलता विकासका लागि । जनताका व्यवहारिक मुद्दा सम्बोधनका लागि,’ उनले भने, ‘उद्यमशीलता विकासको इकोसिस्टम निर्माण गर्ने । तालिम, प्रशिक्षणदेखि बजारसम्मको समन्वय । उद्यमीहरूलाई सहजीकरण, लगानीलाई प्रोत्साहन ।’

देशभरबाट १०० गरिखाने परियोजनाहरूको कार्यान्वयन नमुना चरणमा शुरु हुँदैछ ।

मुलुकमा संविधान जारी भएपछि नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका चौधरी राजनीतिक जनपरिचालनबाट देशभर उद्यम र उद्यमीका सवाल उठाउने, त्यसलाई सम्बोधन गराउने विषयलाई प्रमुख मुद्दा बनाउनुपर्ने वकालत गर्छन् । ‘यसले एउटा जनलहर ल्याउँछ । उद्यम गर्न चाहाने, व्यवसायलाई स्केल अप (स्तरोन्‍नति) गर्न चाहानेले सहज वातावरण पाउँछन् । देशभित्र मूल्य श्रृंखलाको विकास हुन्‍छ ।’ तीनै तहका सरकारमा उद्यमशीलता मैत्री नीति, प्रशासनिक व्यवहार आवश्यक रहेको उनले सुनाए । उनले अगाडि भने, ‘नेपाली कांग्रेस अब उद्यमशील वर्गलाई सहयोग गर्ने, सघाउने पार्टी बन्‍नुपर्छ ।’

नेपाली कांग्रेसभित्र उद्यमशीलताको मुद्दा प्रधान मुद्दा बन्‍नुपर्छ भन्‍ने आवाजको वकालत गर्ने उनीलगायत केही उद्यमी व्यवसायीहरूको समूहले ‘गरिखाने अभियान’ शुरु गर्न लागेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर यसको उद्‌घाटन हुँदैछ । देशभरबाट १०० गरिखाने परियोजनाहरूको कार्यान्वयन नमुना चरणमा शुरु हुँदैछ । यी परियोजनाहरू राष्ट्रिय प्राथमिकताका उत्पादनमूलक क्षेत्र, तीव्र वृद्धिको सम्भावना भएका क्षेत्रसँग सम्बन्धित छन् । उद्यमीको सञ्जालबाट उद्यमी थप्‍ने अनि देशभित्र मूल्य श्रृंखला विकास गर्ने क्रममा कुनै उद्योग वा व्यवसायको ‘भ्यालु चेन’मा स-साना उद्यमलाई जोड्दै त्यसलाई प्रवर्द्धन गर्दै लैजाने नीति अनुरुप उद्यमशीलता विकासका परियोजनाहरू प्रवर्द्धन गरिनेछ ।

‘गरिखाने अभियान’ ले उद्यमशीलता विकासको इकोसिस्टममा काम गरिरहेका विभिन्‍न संस्थाहरूसँग सहकार्य गर्छ अनि उद्यमी बन्‍न चाहाने, उद्यमलाई स्तरोन्‍नति गर्न चाहानेका आवश्यकता अनुसारको सहायता यसका साझेदार संस्थाहरूले गर्छन् । ‘यो अभियान मात्र होइन, महाअभियान हुनेछ । यो अभियानबाट हामीले ६० लाख नेपालीका लागि उद्यमशीलता र रोजगारीका अवसर देशभित्र सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘यस्तो महाअभियान राजनीतिक परिचालनले अझै तीव्र हुनेछ ।’

०००
यो अभियान चौधरी लगायत प्रतिष्ठीत उद्यमीहरूको साखसँग जोडिएको विषय हो । यसको नेतृतवकर्ताका हिसाबले अवश्य पनि उनी यसको अनुहार हुन् । उद्यमशीलता प्रवर्द्धन र विकासको यो अभियानसँगै जति उद्यमी बन्‍छन्, रोजगारीका अवसर बढ्‌दै जान्‍छन् । यसले मुलुकको अर्थतन्त्रलाई समावेशी, सुदृढ र उत्थानशील बनाउनेछ भने स्थायित्व सहितको दीगो आर्थिक विस्तारको मार्ग प्रशस्त गर्नेछ ।


Author

थप समाचार
x