अर्थ / बाणिज्य

इजरायल जाने नेपाली कामदारलाई इजरायलीसरह सेवासुविधा दिने सम्‍झौता

इकागज |
माघ ८, २०७७ बिहीबार १७:१३ बजे

काठमाडौं : नेपालबाट इजरायल जाने नेपाली कामदारहरूलाई त्यहाँको नागरिकसरहको सेवासुविधा दिने बारे दुई देशबीच सम्‍झौता भएको छ । नेपाल-इजरायलबीच गत असोज १४ गते श्रम सम्झौता सम्पन्‍न भएको थियो । यो सम्झौताको अभिन्‍न अंगको रुपमा रहेको 'इम्प्लिमेन्टेसन प्रोटोकल'मा बिहीबार सम्‍झौता भएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा नेपालका लागि इजरायका राजदूत गोडेरले यस सम्झौताका अनुसार नेपालबाट जाने कामदारहरुको लागि कुनै विभेद नगरी इजरायलका नागरिक सरह सेवा सुविधा प्राप्त गर्ने व्‍यवस्था रहेको बताए । नेपालको तर्फबाट छिट्टै यो प्रकृया आरम्भ गर्ने उनले विश्वास व्यक्त गरे ।

विभागका महानिर्देशक कुमारप्रसाद दहालले प्रस्तुत सम्झौता अनुरुप इजरायल जाने नेपाली कामदारहरुको लागि एक आन्तरिक कार्यविधि तर्जुमा गरी छिट्टै प्रकृया थालनी गर्ने कुरा बताए । इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले नेपाल-इजरायल श्रम सम्झौताले दुवै देश बीचको मित्रवत सम्बन्धमा थप टेवा पुग्ने विश्वास भर्चुअल माध्यमबाट व्यक्त गरिन् ।



Author

थप समाचार
x