गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन
संकटमा गैरआवासीय नेपालीको भूमिका प्रशंसायोग्य छः मन्त्री ज्ञवाली
काठमाडौँः गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा वार्षिक आय–व्यय तथा साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा छलफल हुने गैर आवासीय नेपाली संघले जनाएको छ ।
विशेष साधरणसभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । ‘गैरआवासीय नेपाली समुदायले मुलुकलाई संकट परेको बेला निर्वाह गरेको भूमिकाले आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल हुनुभएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा यहाँहरूले महत्पूर्ण भूमिका निर्वाह गर्नुभयो ।’
मन्त्री ज्ञवालीले संकटको बीचमा पनि विदेशमा रहेका विज्ञहरुलाई नेपालमा जोड्ने प्रयत्न गरेको प्रति खुसी प्रकट गरे । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको उल्लेख गरेका छन् । ‘गैर आवासीय नेपाली समुदाय नेपालको विकासको लागि सहयात्री हो,’ उनले भने, ‘संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु राम्रो हुनेछ ।’
विशेष महाधिवेशनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको चर्चा गरेका थिए । उनले विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको बताए ।
भट्टराईले राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा जोड दिए । नेपालमा ठूलो लगानीको आवश्यकता रहेको भन्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन सुझाए ।
विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु धारणा राखेका थिए ।
अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनीभूत छलफल गर्न सुझाव दिए ।
विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा असहमति राख्नु स्वभाविक भएपनि व्यक्तिगत तहमा र गैरव्यावसायिक ढङ्गले गालीगलौजमा लाग्नु नहुने बताए । उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमितिलाई धन्यवाद पनि दिए । लामिछानेले विश्वव्यापी कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि ल्याउने उल्लेख गरे । गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको साख बचाई राख्न सबै सदस्यहरू प्रतिवद्ध हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा निवर्तमा अध्यक्ष भवन भट्ट, वर्तमान अध्यक्ष कुमार पन्त, संरक्षक र सल्लाहकारहरूले पनि सम्बोधन गरेका थिए । भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा उद्घाटन सत्रपछि वार्षिक आय–व्यय तथा साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल शुरु भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया