अर्थ / बाणिज्य

प्रदेश १ मा कृषि व्यवसाय सशक्तिकरणका लागि सहजको दोस्रो चरण शुरु

इकागज |
माघ १४, २०७७ बुधवार ९:६ बजे

विराटनगर: प्रदेश १ को भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयले स्वीस विकास सहयोग नियोग (एसडीसी) सँगको सहकार्यमा नेपालमा कृषि बजार विकास कार्यक्रमको दोस्रो चरण शुरुवात गरेको छ । विराटनगरमा एक कार्यक्रमका बीच उक्त सहज परियोजनाको दोस्रो चरणको घोषणा गरिएको छ । यसलाई स्वीस कन्ट्याक्ट र सिप्रेड (सेन्टर फर इन्भायरोमेन्टल एण्ड एग्रीकल्चरल पोलीसी रिसर्च, एक्सटेन्सन एण्ड डेभलपमेन्ट)ले कार्यान्वयन गर्दैछन् । यो परियोजना नोभेम्बर २०२४ सम्म सञ्चालन हुनेछ र परियोजनाले प्रदेश १ मा कृषि व्यवसाय तथा सेवामा नवप्रवर्तनका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । 

कृषि बजार विकास परियोजनाको दोस्रो चरणको उद्घाटन कार्यक्रमका सहभागीहरूले फरवार्ड मार्केट लिंकेज (उत्पादनको बजार) तथा कृषि उत्पादनको प्रशोधनमार्फत् गुणवत्ता अभिवृद्धिसहित निर्यातले कृषिको व्यावसायिकरण हुनसक्ने धारणा राखेका छन् । 


प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेश १ मा कृषिको व्यवसायीकरणमा यो परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘यहाँ धेरै कृषि उत्पादनको निर्यात सम्भावना रहेको छ, निर्यात अभिवृद्धिले उत्पादन विकास र रोजगारी सिर्जनालाई सहयोग पुर्‍याउने हुँदा प्रदेश १ को आर्थिक–सामाजिक विकासमा परियोजनाले योगदान गर्नेछ,’ उनले भने । मन्त्री मगरले परियोजनालाई आवश्यक सहजीकरणका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए । 
एसडीसीका कार्यक्रम व्यवस्थापक कोरले ब्लुनरले परियोजनाको निरन्तरताले तरकारी, मकै, अलैंची तथा डेरी उद्योगको मूल्य श्रृंखला विकास र निर्यातमा समेत सहयोग गरेको उल्लेख गर्दै यो चरणमा प्रदेश १ का साना–मझौला व्यवसायलाई नवप्रवर्तनमा सहयोग गर्ने बताए । उनले नेपाली महिलाहरू र युवाहरूलाई रोजगारी तथा स्वरोजगारमार्फत उच्च आयआर्जनको अवसर सिर्जना गरी समावेशी आर्थिक विकासको आधार निर्माण गर्ने उल्लेख गरे । 

यो परियोजना सन् २०२० को डिसेम्बरमा नेपाल सरकार र स्वीस  सरकारबीच सहमति भएपछि शुरु भएको हो । समग्र कृषि क्षेत्रको व्यावसायीकरणका लागि यसका अभ्यासहरू अन्यत्र पनि अनुसरण गर्न सकिने प्रदेश १ सरकारले उल्लेख गरेको छ । 
 


Author

थप समाचार
x