अर्थ / बाणिज्य

सेयर बजार फेरि उकालो लाग्यो

मंगलबार १७ अंकले घटेको नेप्से बुधबार १८ अंकले बढ्यो

इकागज |
माघ १४, २०७७ बुधवार १५:३० बजे

काठमाडौं : मंगलबार १७ अंकले घटेको सेयर बजार बुधबार फेरी उकालो लागेको छ । १८ अंकले बढेको नेप्से परिसूचक २४४१.८५ बिन्दूमा पुगेको हो । ठुला कम्‍पनीहरूको मूल्य प्रतिनिधित्‍व गर्ने सेन्सिटिभ परिसूचक भने ० दशमलव ८६ अंकले घटेको छ । बैंकिङ समूहलगायत सात समूहका परिसूचक घटेपछि सेन्सिटिभ ओरालो लागेको हो ।

जीवन बीमा र निर्जीवन बीमा समूहका परिसूचकमा उछाल आउँदा नेप्से परिसूचकलाई बढ्न मद्दत पुगेको देखिन्‍छ । जीवन बीमा समूहको परिसूचक ६ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक ३ प्रतिशतले बढेको छ । यो समूहमा ४६४ अंकको वृद्धि भएको छ ।


सात कम्पनीको सेयर मूल्‍यमा उच्‍च वृद्धि

नेप्‍से उकालो लाग्‍दा सात कम्‍पनीका सेयर मूल्‍य उच्‍च दरमा वृद्धि भएको छ । नेपाल लाइफ इन्‍स्‍योरेन्स कम्पनी, आरम्‍भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, सपोर्ट लघुवित्त, प्रभु लाइफ इन्‍स्‍योरेन्‍स, नेसनल हाइड्रो पावर कम्‍पनी र एभरेष्ट इन्‍स्योरेन्‍स कम्पनी प्रोमोटर सेयर छन् ।

यी कम्‍पनीहरूको सेयरमा ९ प्रतिशत भन्दा बढी अंकले वृद्धि भएको हो । सबैभन्दा उच्च दरमा वृद्धि भएको नेपाल लाइफ इन्‍स्‍योरेन्‍स कम्पनीको सेयर मूल्‍य २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ ।

लाभांश घोषणा गरेलगत्तै अत्यधिक किनबेच भइरहेको नेपाल लाइफ इन्‍स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । मंगलबार बुक क्लोज हुनुभन्दा अघि नेपाल लाइफको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको किनबेच भएको थियो ।

नेपाल लाइफले ३१ प्रतिशत बोनस सेयर घोषणा गरेपछि लगानीकर्ताहरूको आकर्षण बढेको हो । बुधबार कम्‍पनीको सेयर मूल्‍य समायोजन भएको छ । मंगलबार प्रति कित्ता दुई हजार ८ सय ७२ रुपैयाँमा रोकिएको थियो । समायोजनपछि नेपाल लाइफको सेयर मूल्‍य प्रति कित्ता दुई हजार १ सय ९२ रुपैयाँ कायम भएको थियो ।

सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्‍योरेन्स कम्‍पनी नै छ । ९३ करोड रुपैयाँ बराबर कम्पनीको सेयर किनबेच भएको थियो ।

बुधबारको कारोबारमा ८ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ५९ हजार १ सय ५१ पटकको कारोबारमा १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।

 

 


Author

थप समाचार
x