अर्थ / बाणिज्य

सेयर बजारको 'बबल' फुट्न थाल्यो

कारोबार रकम ९ अर्ब बढी, सात कम्पनीको सेयरमा उच्च मुल्य वृद्धि

इकागज |
माघ १५, २०७७ बिहीबार १५:२६ बजे

काठमाडौं : तीन साताको लगातार उछालपछि बिहीबार सेयर बजार घटेको छ । मंगलबारको कारोबारपछि सेयर बजार सुधारको बाटोमा पुग्‍ने धेरैले आँकलन गरेका थिए । सो दिन सेयर बजार मापक नेप्‍से परिसूचक १७ अंकले घटेको थियो ।

बुधबार १८ अंकले बढे पनि सेन्सिटिभ इन्डेक्‍समा गिरावट आएको थियो । जसले सेयर बजार सुधारको बाटोमा पुग्‍ने संकेत दिएको हो । बिहीबारको कारोबारमा त यो सुधारको क्रम छरफस्टै बन्‍यो । नेप्से परिसूचक झन्डै १६ अंकले घटेको छ ।


ठूला कम्‍पनीको सेयर मूल्‍य प्रतिनिधित्व गर्ने सेन्सिटिभ इन्‍डेक्‍स झन्‍डै १ प्रतिशतले घटेको छ । बजारको ठूलो हिस्साको प्रतिनिधित्‍व गर्ने बैंकिङ समूहमा २.३४ प्रतिशतले गिरावट आयो । साताको अन्तिम कारोबार हुने दिन तीन समूहका परिसूचकबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको हो ।  

अर्थशास्त्रमा बजारको उत्तेजित व्यवहारले भाउ बढ्दा एक किसिमको बबल निर्माण हुने विश्‍वास गरिन्छ । यस्‍तो बबल कुनै पनि समयमा उत्पन्‍न हुनसक्छ जसले वस्तुको भाउ वास्तविकताभन्दा बढी मूल्यमा पुर्‍याउँछ । यस्तो बबल एकपटक अवश्य फुट्छ भन्‍ने मान्‍यता छ ।

मंसिरयता सेयर बजार क्रमिकरुपमा उकालो लागेको सेयर बजारलाई बबल हुनसक्‍ने धेरैले अनुमान गरेका छन् । अहिले नेपाल मात्र नभई विश्‍वका अधिकांश मुलुकका सेयर बजारमा वृद्धि भइरहेको छ । न्यू योर्क टाइम्‍सले बुधबार प्रकाशित एक स्टोरीमा 'सेयर बजारमा बबल' देखिएको उल्‍लेख गरिएको छ ।

नेपालको ईतिहासमा २०७२ सालको भुकम्प र नाकाबन्‍दीताका यस्‍तो बबल सेयर बजार र घरजग्‍गा कारोबारमा देखिएको थियो ।

यस्‍तो 'बबल' खासगरी सट्टेबाज गर्ने लगानीकर्ताहरूले उत्पन्न गर्छन् । संकटकालीन अवस्‍थामा लगानीका अन्‍य क्षेत्रहरू आक्रान्त भएपछि लगानीकर्ताहरूले घरजग्‍गा कारोबार वा सेयर बजारमा सट्टेबाजी गरेर मुल्‍य बढाउने गर्छन् । निश्चित लाभ प्राप्‍त भएपछि उनीहरूले ठुलो मात्रामा आफ्‍नो लगानी उठाउँछन् । जसले सोझा साना लगानीकर्ताहरूलाई डुबाउने गर्छ ।

कारोबार ९ अर्बमाथि

सेयर बजार घटिरहेको समयमा कारोबार रकम भने ९ अर्ब रुपैयाँ नाघेको छ । लगातार किनबेचमा रेकर्ड राखिरहेको नेपाल लाइफ इन्‍स्‍योरेन्‍सको सेयरको कारोबार बिहीबार पनि उच्‍च छ । यसको सेयर ५६ करोड ६३ लाख ९८ हजार रुपैयाँ बराबर किनबेच भएको छ ।

दोस्रोमा पुनर्बीमा कम्‍पनीको सेयर किनबेच भएको छ । ३१ करोड ५४ लाख रुपैयाँ बराबर किनबेच भएको यसको मुल्‍य १५२३ रुपैयाँ प्रति कित्ता पुगेको छ । प्रभु बैंक, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, एनआइसी एसिया बैंक, आरम्भ चौतारी लघुवित्त वितीय संस्थाका सबैभन्दा ठूलो कारोबार भयो ।


Author

थप समाचार
x